काठमाडौं । बाग्लुङमा १४ जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
गुल्मीबाट बाग्लुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप भीमगिठेमा दुर्घटना हुँदा त्यसमा सवार १४ जनाको मृत्यु भएको छ । दर्घटनामा ३ जना गम्भीर घाइते र १ व्यक्ति खोलाले बगाएर हराएका छन् ।
गत मंसिर ११ गते अर्घाखाँचीको सन्धीखर्कबाट वुटवलतर्फ जादै गरेको लु २ ख २१४८ नम्बरको बस मंसिर ११ गते सन्धीखर्क नगरपालिका वडा नं. ६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनाको पीडा रहेकै बेला पुनः बाग्लुङमा यति ठूलो संख्यामा मानिसहरुको मृत्यु हुनेगरी भएको दुःखद घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको छ ।
सभापति देउवाले घटनामा परी निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न गराउन समेत सभापति देउवाले सरकारको ध्यान आकृष्ट समेत गरेका छन् ।