arrow

डीएसपी ढुंगेललाई पक्राउ पूर्जी, प्रहरीमा साहसिक काम गर्नेको मनोबल गिराउने कदम

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
dsp-kumod-dhungel.jpg

काठमाडौं । नेपाल प्रहरीमा साहसिक काम गर्ने अधिकृतहरुको मनोबल गिराउने काम भएको छ । गुण्डागर्दीमा संलग्न खतरनाक डन र बलात्कारी पक्राउ गर्ने डीएसपी कुमोद ढुंगेललाई पक्राउ पूर्जी जारी गरी मनोबल गिराउने काम गरिएको छ । यसले गृहमन्त्रीदेखि प्रहरी संगठनका प्रमुखलाई क्षणिक राजनीतिक लाभ भए पनि त्यसले प्रहरी संगठनलाई कमजोर बनाएको गुनासो आउन थालेको छ।

जटिल प्रकृतिका अपराध नियन्त्रणमा जोखिम लिनसक्ने खुबी भएका डीएसपी ढुंगेल पनि प्रहरी संगठनका क्षमतावान अधिकृत मानिन्थे । उनले काठमाडौं परिसरमा हुँदा गुण्डा अप्रेसन होस् कि रामेछापमा हुँदा बलात्कारीलाई भारतको अण्डमान निकोबारबाट पक्राउ गरी ल्याएको घटना होस् चाहे मनोज पुनको इन्कान्टरदेखि चरीको इन्काउन्टरसम्म डीएसपी ढुंगेलले संगठनको प्रतिष्ठा उँचो बनाउने काम गरेको स्वयं प्रहरी अधिकारीहरु बताउँछन् ।

२०६८ साल माघ ५ गते रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थियो । सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले छोरीको हत्यामा संलग्नको विरुद्धमा प्रहरीमा तत्कालै उजुरी पनि दिएकी थिइन् । प्रहरीले हत्याका आरोपी श्याम राउतलाई पक्राउ पनि गर्यो। तर राजनीतिक दबाबमा उनलाई छाडियो । छोरीको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेर छोडेपछि डिल्लीमायालाई धेरै पीडा भयो। राउतले मैले नै हत्या गरेको हो भनेर प्रहरीकै अगाडि स्वीकार गर्दा पनि रामेछापका तत्कालीन प्रहरी प्रमुख डीएसपी संजीव शर्मा दासले मिलेमतोमा छोडेका थिए।

राजनीतिक दबाबमा राउत छुटेपछि आमा डिल्लीमायाले मानवअधिकारवादीहरुसंग गुहार मागिन् । साँढे पाँच बर्षसम्म कुनै सुनुवाई भएन । रामेछापमा आउने हरेक डीएसपीसँग छोरीको हत्यारा पक्राउ गरिदिन उनले विन्ती गरिन् । तर सबैले हुन्छ हुन्छ भनेर टारे, तर सुन्तली तामाङको बलात्कारपछि हत्या भएको साढे ५ बर्षपछि जिल्लाको प्रहरी प्रमुखका रुपमा रामेछापमा गएका डीएसपी कुमुद ढुंगेलले हत्यारा राउतलाई पक्राउ गरे । धेरै मिहिनेत गरी उनले राउतलाई पक्राउ गरेका थिए । प्रहरीको मिलोमतोमा फरार अभियुक्तलाई ढुंगेलको टोलीले भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । साँढे पाँच बर्षदेखि न्यायको खोजीमा भौतारिएकी डिल्लीमायाले छोरीको हत्यारा पक्राउ पर्ने आशा गरेकी थिइनन्। तर डिल्लीमायाको न्याय पाउने हक डीएसपी ढुंगेलले दिलाएरै छाडेका थिए। सुन्तली तामाङका हत्यारा राउतलाई पक्राउ गरेर ल्याई २०७४ असार १२ मा सार्वजनिक गरेपछि खुसीको आशु झार्दै डिल्लीमायाले तत्कालीन गृहमन्त्री जनार्दन शर्मा र डीएसपी ढुंगेललाई धन्यवाद दिएकी थिइन्।

सुन्तली तामाङका हत्यारा राउतलाई पक्राउ गर्ने डीएसपी ढुंगेल त्यसपछि रुपन्देही जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका थिए । सीआइबी र प्रहरीको टोलीले निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचन र युवासंघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने मनोज पुन र उनका सहयोगी सोम आलेको ब्यापक खोजी गरेको थियो । प्रहरी टोली उनीहरुको खोजीमा भारतसमेत पुगेको थियो। भारतबाट नेपाल आएपछि पुन र आले २०७४ फागुन ९ मा इन्काउन्टरमा मारिएका थिए। प्रहरीबाट त्यतिबेला डीएसपी ढुंगेलले नै कमाण्ड गरेका थिए।

मनोज पुनले गौचन र तिवारीको हत्यापछि रुपन्देही एमालेका नेताहरु धेरैको हत्याको सूची बनाएको उनको डायरीबाटै खुलेको थियो । रुपन्देही नेकपाका नेतादेखि मेयरसम्मको नाम उनको डायरीमा थियो । मनोज पुन र उनका सहयोगी आले इन्काउन्टरमा मारिएपछि ती नेताहरुसहित धेरैले शान्तिको श्वास फेरेका छन् । तर पुन र आलेलाई खोजी गर्नेदेखि इन्काउन्टर गर्ने कुमुद ढुंगेल भने दण्डित भएका छन्। प्रहरीको साख र प्रतिष्ठा बढाउने डीएसपी ढुंगेलबिरुद्ध पक्राउ पूर्जी जारी गरेपछि संगठनभित्र अब जटिल प्रकृतिका अपराध अनुसन्धान गर्न समेत पछि हट्ने अवस्था सृजना भएको छ।

गुण्डानाइके शुक्रे तामाङको पक्राउदेखि करोडौ करोडको क्रिकेटदेखि फुटवल खेलमा सट्टेबाजी गराउने नागराज नथमल अग्रवालसम्मलाई पक्राउ गर्ने काम पनि प्रहरीले नै गरेको थियो। जसमा डीएसपी ढुंगेलकै योगदान छ। गुण्डानाइके अभिषेक गिरी र रमेश बाहुनलाई भारतबाट पक्राउ गरी ल्याउने पनि ढुंगेल नै थिए।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या गर्ने बाबु थापा, बबरमहल बमकाण्डका अभियुक्त पक्राउ गर्नेदेखि रेशम चौधरी पक्राउ गरी प्रहरी संगठनको शिर माथि उचालेका ढुंगेललाई डकैती गर्नेसँग कनेक्सन भएको आरोपमा निलम्बन गरेर मात्र नपुगी पक्राउ पुर्जी नै जारी गरिएको छ।

देश र जनताका लागि राम्रो काम गर्न खोज्दा भीमसेन थापा सेरिएर मर्नुपरेको थियो, भीमसेन थापाकै जस्तो नियति अहिले गृह मन्त्री रामवहादुर थापा बादलको कार्यकालमा प्रहरी संगठनमा डीएसी कुमुद ढुंगेलले भोग्नुपरेको छ। त्यसो त भेटिंदै नभेटिएको ३३ किलो सुन तस्करीको आरोपमा होनाहार अधिकृत एसएसपी दिवेश लोहनीलाई निलम्बन गरी मुद्दा चलाइयो। अदालतले उनलाई सफाइ दिए पनि उनको बृत्ति विकासमा असर परेको छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको ४ दिनपछि सीआइबीबाट अनुसन्धानका लागि गएका अर्का डीएसपी अंगुर जीसीलाई पनि अनाहकमा निलम्बन गरि मानसिक सास्ती दिइएको छ। उनी पनि संगठनमा काबिल अधिकृतका रुपमा चिनिन्छन्।

संगठनमा लोहनी, जीसी र ढुंगेल जस्ता क्षमतावान अधिकृत कमै थिए, छन् र हुनेछन् । जोखिमपूर्ण काम गर्न रुचाउने यी तीनैै अधिकृत जहाँ जहाँ कार्यरत रहे, संगठनको शिर उचो बनाउने काम नै गरे । जुन संगठनमा उनीहरुले १५ बर्षदेखि २०–२२ बर्ष बिताए, ज्यानको बाजी लगाएर शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न रातदिन नभनी सक्रिय भए, त्यो संगठनले सम्मान र हौसला बढाउनुपर्ने हो । तर, मुद्दा चलाउनेदेखि पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

२०७५ चैत २६ गते काठमाडौं सामाखुसीस्थित लालेन्द्र शेरचन्दको घरमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठसँग घटनाअघि डीएसपी ढुंगेलको मोबाइल सम्पर्क र भेटघाट भएको आरोप छ। डकैती गर्ने श्रेष्ठसँग कनेक्सन देखिएको भन्दै उनलाई निलम्बन गरिएको छ। डकैतीको आरोप लागेका श्रेष्ठसंग ढुंगेलको सम्पर्कलाई आधार बनाएर उनलाई निलम्बन गरिएको छ। डकैतीका आरोपी श्रेष्ठले म्यासेज वा कल गरे पनि डीएसपी ढुंगेलले उत्तर नदिएको स्रोत बताउँछ।

प्रहरीले अपराधी पत्ता लगाउन उसको नम्बर हेर्ने, कल गर्ने, कलडिटेल लिने सामान्य कुरा भएको प्रहरीका पूर्व अधिकारीहरु बताउँछन्। तर त्यसैलाई आधार मानेर निलम्बन गर्ने हो भने त विगतमा मनोज पुन, सोम आले, केदार सहनी जस्ता अपराधीसम्म पुग्न पनि प्रहरीले मोवाइल वा फोन मार्फत सम्पर्क गर्यो‍ होला ? सूचनाका लागि प्रहरीले आरोपीसँग सम्पर्क गर्नै नहुने हो भने अपराधी कसरी पत्ता लाग्छ भन्ने प्रश्न अहिले उठेको छ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ