सरकार ढाल्न काठमाडौंका जनता सडकमा आउने जोशीको चेनावनी
प्रकाशित २०७६ मंसिर २१ शनिबार
809
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारको कमजोरीका कारण राष्ट्रिय स्वाभिमान धरापमा परेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमार्डौ क्षेत्र नं ८ ले आयोजना गरेको सरकारको ध्यानाकर्षण कार्यक्रमलाई संवोधन गर्दै जोशीले नेपाल–भारत र चीन जोड्ने त्रिदेशीय सीमाविन्दुमा रहेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको तीन हप्तापछि सरकारले एउटा पत्र लेख्नुबाहेक केहि नगरेर स्वाभिमान धरापमा पारेको बताए।
‘हिजो प्रतिपक्षमा रहँदा भारतविरुद्ध बोलेर जनमत बटुलेको कम्युनिष्ट सरकारका प्रधानमन्त्री आज राष्ट्रिय स्वाभिमान खतरामा परिरहेको बेला कुटनीतिक पहल किन थाल्दैनन्,’ जोशीले भने, ‘उक्त भूमी नेपालको हो भनेर विभिन्न दस्तावेजहरुले प्रमाणीत गरिसकेको छ, यस्तो बेलामा, सरकारको तर्फबाट कुटनीतिक कदम चाल्नुपर्ने बेला छिमेकीलाइ ढाडस दिएर सिमाको विषय हल हुँदैन।’
जोशीले गुठी विधेयक लगाएतका अन्य विभिन्न विधेयकहरुलाई सरकारले फेरी गलत नजिर राख्दै पारित गर्न खोजेको भन्दै आपत्ति जनाए ।
धर्ना कार्यक्रममा संवोधन गर्दै नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले सरकारले आफ्ना गलत कार्यहरुलाई बेलैमा नसच्याए सरकार विरुद्ध जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए।
सरकारको गलत काम कारवाहीलाई खवरदारी गर्न आयोजना गरेको धर्ना कार्यक्रममा सहभागीहरुले ‘निर्मला पन्तलाई न्याय दे ’, ‘ भ्रष्टाचार नियन्त्रण गर’, ‘लिपुलेक हाम्रो हो, सिमाविवाद अन्त्य गर’ लगाएतका प्ले कार्ड बोकेर प्रदर्शन समेत गरेका थिए ।