arrow

यस्तो हुनुपर्छ राजनेता

logo
विजयकुमार पन्त,
प्रकाशित २०७६ मंसिर २८ शनिबार
bijaya-kumar-panta.gif

नेपालको राजनीतिमा विरलै मात्रामा राजनेता देखिनुको पीडाले गुज्रिरहेको अप्रिय यथार्थ हामी सबैको माझ स्पष्ट छ। बेलाबखत केही नेताहरूले राजनेता बन्ने बाटोमा आफूलाई डोहोर्‍याए पनि खाँटी राजनेताको अभाव प्रत्येक कालखण्डमा खड्किएकै छ।

केही पुराना दलहरूले आआफ्ना शीर्ष नेतृत्वलाई राजनेताको कथित पगरी गुथाएपनि आजको वर्तमानमा हामीले राजनेता पाउन नसकेको प्रमाणित भइरहेको छ। राणा, पञ्चायत र राजा विरूद्धको आन्दोलनले पनि विरलै राजनेता जन्मायो। हरेक परिवर्तनसँगै आएका दल र तिनका नेतृत्व सिंह बनेर उदाएपनि स्याल बनेर अस्ताएको देखिँदै आएको छ। जनताको चाहना, आकांक्षा र जनादेश अनुसार आजसम्मका कुनै शक्तिले नेपाल र नेपालीको सहि नेतृत्व गर्नै सकेका छैनन्। संघर्षमा रहँदा सपना बाँडेपनि सत्तामा पुग्दा नपुग्दै उनीहरु सबै स्खलित हुन्छन्।

राजनेता रहर, सनक, उत्तेजना र आवेगले हुने हैन। म राजनेता बन्छु भन्दैमा राजनेता बन्ने पनि हैन। जनताले, समयले र युगीन आवश्यकताले राजनेता जन्माउने गर्छ। कसैको नक्कल गरेर, मै हुँ भनेर र पराइको इच्छा र इशारामा कोहीपनि आजसम्म राजनेता बन्न सकेको छैन। म राजनेता हुँ भनी डंका पिटाउने र झूटको खेती गर्नेहरूलाई इतिहासले रद्दीको टोकरीमा फ्याँकिदिएको छ।

एउटा कालखण्डमा जनताकै माझबाट जन्मिएर राजनेता बन्छ कि भनी आशा गरेको नेता शक्ति, सुविधा र सत्ताले भ्रष्ट बनाएर डुङडुङ्ति गन्हाएको पनि पाइएको छ। झण्डै एक शताब्दीसम्म पनि देश र जनताले राजनेता नजन्माउनु तथा राजनेताको छवी भएकाले समेत देशको नेतृत्वमा रहेर काम गर्न नपाउने परिस्थिति हेर्न हामी विवश भयौ। जस्को परिणाम देशले भोगिरहेको छ। नेपाल आमाका सर्वोत्तम छोराछोरीहरू आफ्नो कालखण्डमा सहि राजनेताको अभावले देशमा सम्भावना नदेखि छट्पटीएर विदेशतिर छरिनुपरेको तीतो र अप्रिय यथार्थ हामी सबैको सामु छ। देशले विकास र राजनीतिले निकास नपाउनु पनि राजनेताकै अभाव हो।

छिमेक र संसारका अन्य मुलुकहरूले आफ्नै परिवार र छोराछोरीहरूलाई जस्तै माया, ममता र स्नेह गर्ने राजनेता पाएपनि नेपाल र नेपालीले चाहिँ औंलामा गन्न सक्ने पनि राजनेता नपाउनु आम नेपालीको लागि श्राप सरह बनेको छ। हाम्रा फलानो, दिवंगत नेता अनि राजालाई समेत विष्णुका अवतार र राजनेता हुन भनिएपनि त्यस्तो विशेषता कमैमा मात्र देखिएको छ। यदि कसैले छ भन्छ भने उसले देश, जनता र संमृद्धीका खातिर कस्तो त्याग र योगदान गर्यो पुष्टि र प्रमाणित गरि देखाउनुपर्छ। केवल नारा फलाक्दैमा र ग्वोयवेलियन दुष्प्रचारले मात्र जो कोहि राजनेता हुन सक्दैन।

राजनेता बन्न र भन्न उसको जन्म हेर्नुपर्छ। यदि जनताले नै जन्माएका हुन र जनताकै लागि उसले जीवन दिएको छ भने उ जननेता हो। जनताको जनजीवन र जीविकालाई जानेर जनताको जीवनस्तर परिवर्तन गराई जीवनभर जनसेवामा समर्पित हुने जननेता पक्का राजनेता हो। राजनेता जनताको शासक बन्दैन, सेवक बन्छ। उसले आफूलाई मालिक ठान्दैन, मजदुर भन्छ। उ कसैका सामु झुक्दैन तर जनतासँग झुक्छ। मुलुकलाई परिवार ठानेर आफूलाई जनताको अभिभावक मानेर जो अनवरत अघि बढिरहन्छ उहीँ बन्छ राजनेता। राजनेता कुनै स्टुडियो र स्टेडियमबाट भन्दा नेतृत्व क्षमताको आधारमा जनताको माझबाटै जन्मछ।  ल अब भन्नुस तपाइले नेपालमा कोहि राजनेता पाउनुभएको छ?

( पन्त युवा राजनीतिक विश्लेषक एवं राष्ट्रिय संस्कार धाम अभियानका संस्थापक पनि हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ