arrow

'गोकर्ण रिसोर्ट र दरबार मार्गस्थित सम्पत्ति प्रकरणमा घिनलाग्दो राज्यदोहन'

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
gokarna-resort.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री स्वयंको पहल र संलग्नतामा उच्चतहको नीतिगत भ्रष्टाचारको निरन्तरता पुष्टि हुने राज्यदोहनका समाचारप्रति साझा पार्टीले ध्यानाकर्षण जनाएको छ ।

पछिल्लो पटक राज्यदोहनको ‘आसेपासे पुँजीवाद (क्रोनि क्यापिटलिजम)’ नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण रिसोर्ट र दरबार मार्गस्थित सम्पत्ति प्रकरणमा घिनलाग्दो तवरले प्रकट भएको छ। यी प्रकरणमा देखिएको सरकारको हदैसम्मको भ्रष्ट रवैयाको साझा पार्टी कडा विरोध गर्दै निर्णयको खारेजीको माग गरेको छ ।

शुक्रबार साझा पार्टी  प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी  विज्ञप्तिमा भनिएको छ,' राज्यदोहन र भ्रष्टाचारका घटनाप्रति मिडिया र आमनागरिकको विरोधको स्वर कसरी बन्द गर्ने भन्नेमा पनि सरकार उद्यत देखिन्छ। मिडिया र सामाजिक सञ्जाल नियन्त्रणका निर्माणाधिन कानुन तथा गुप्तचर निकायलाई अदालतको अनुमति बिना नै नागरिकका नीजि संवाद रेकर्ड गर्न सक्ने कानुनी प्रावधान सरकारको यो घातक प्रवृत्तिको कडिको रुपमा साझा पार्टीले बुझेको छ।'

'वास्तवमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको शक्तिशाली सरकारको राज्यसंचालनको अभ्यास भित्र ‘आसेपासे-पुँजीवाद’ र ‘अनुदार लोकतन्त्र (ईलिबरल डिमोक्रसी)’ को बिषाक्त र राष्ट्रघाति तस्विर स्पष्टसँग देखिंदै छ। सरकारको यो घातक प्रवृत्तिको साझा पार्टी कडा भर्त्सना गर्दछ' विज्ञप्तिमा उल्लेख छ 'पछिल्लो आमचुनावको जनमतले शक्तिशाली सरकार र बलियो प्रतिपक्ष बनायो। शक्तिशाली जनमतको सरकारले लामो राजनीतिक संक्रमणले निम्त्याएको भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन र विकासको बाटोमा मुलुकलाई डोर्याउने आम नेपालीको अपेक्षा थियो। तर सरकारको प्राथमिकता जनताको यस्तो अपेक्षा सम्बोधन गर्ने भन्दा राज्य संयन्त्रको चरम दुरुपयोग गरी आफ्ना आसेपासेलाई पोस्नेमा रह्यो।'

 'यो तहको नीतिगत भ्रष्टाचारका लागि संसदबाट ऐन संसोधनको विधयक नै पारित हुँदा प्रमुख प्रतिपक्ष र संसदमा उपस्थित अन्य दलको मौनता पनि आफैंमा रहस्यको बिषय बनेको छ।' व्यवस्था र राष्ट्रको भविष्य नै धरापमा पार्न सक्ने सरकारको यो घातक प्रवृत्तिको बेलैमा सशक्त विरोध गर्दै सुशासन र लोकतान्त्रिक अधिकारको सुनिश्चितताका लागि एकजुट हुन साझा पार्टी संपूर्ण राजनीतिक दलहरु, नागरिक समाज, उद्योगी-व्यवसायी लगायत आम नागरिकमा आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ