राजेन्द्र महतो भन्छन् ‘ सीमा विवादमा सडक जुलुश निकाल्ने धन्दा ठिक भएन’
प्रकाशित २०७६ पुष ५ शनिबार
708
Shares
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक महतोलेले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट पारेको बताए ।
महतोले नेपाल–भारतबीचको सीमा विवाद कुटनीतिक माध्यमबाट हल गरिनुपर्नेमा जोड दिए । उनले भने,‘भारतसँगको सीमा विवाद जो छ, कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद, यो समस्या आजको होईन । ५०, ६० वर्षदेखि समस्या रहँदै आएको छ । हाम्रा सरकार यतिका वर्षसम्म कुम्भकर्णको निन्द्रामा सुत्न मिल्छ ? आँखामा पट्टी र कानमा तेल हालेर सरकार सुत्न मिल्छ ?’
उनले सीमा विवादको समाधान कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कुरा दोहोर्याउँदे सडकमा नारा लगाएर समस्याको समाधान नहुनेपनि जिकिर गरे । उनले भने,‘दुतावासमा पुत्ला दहन गरेर समस्याको समाधान हुन्छ त ? यो समस्या समाधान गर्ने दायित्व सरकारभित्र पर्छ ।’
उनले सरकारले आफूसँग भएको आधार र प्रमाणको आधारमा कुटनीतिक रुपमा विवाद र समस्याको समाधान गर्नुपर्ने सुझाव दिए । उनले भने,‘दुई देश छिमेकी भएपछि सीमा विवाद हुनु स्वभाविक हो । तर, यी विवाद र समस्यालाई सल्ट्याउनुपर्छ । दुई देशले आधार र प्रमाणको आधारमा विवाद सल्ट्याउनुपर्छ । हाम्रो पार्टीले प्रधानमन्त्रीले डाक्नुभएको सर्वदलीय÷सर्वपक्षीय बैठकमा पनि आफ्नो सल्ला र सुझाव दिएको छ । सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।’ उनले सडकमा जुलुश निकाल्ने धन्दा ठीक नभएको पनि टिप्पणी गरे । उनले भने,‘जतिसक्दो चाँडो सरकारले यो विवादको समाधान गर्नुपर्छ ।’