विद्यार्थीलाई ठक्कर दिएर बस भागेपछि आक्रोशित पशुपति क्याम्पसका विद्यार्थीबाट तोडफोड र आगजनी
प्रकाशित २०७६ पुष ७ सोमबार
796
Shares
काठमाडौं । राजनीतिक तथा सामाजिक रुपमा सक्रिय रहेको पशुपति बहुमुखी क्याम्पस क्षेत्र सोमबार बिहानदेखि तनावग्रस्त बनेको छ । आफ्नै क्याम्पसका विद्यार्थीलाई ठक्कर दिएर गाडी भागेपछि आक्रोशित भएका उक्त क्याम्पसका विद्यार्थीहरुले चावहिल क्षेत्र तनावग्रस्त बनाएका हुन् ।
पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएको छ । उनको अस्पतालमा उपचार भइरहेको छ । त्यसपछि आक्रोशित बनेका विद्यार्थीहरुले चावहिल क्षेत्रमा तोडफोडसंगै आगजनी गरेका छन् । उनीहरुले यातायात अवरुद्ध गरेर गाडीमा आगजनीसमेत गरेका हुन् ।
बिहान बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका छन् ।
राजनीतिक तरंग पनि यो क्याम्पसमा पहिले आउँछ भने सामाजिक रुपमा पनि यो क्याम्पस सक्रिय छ । अन्य मानिसमा परेको पीडालाई आफ्नै ठानेर सडकमा आउने क्याम्पसका विद्यार्थीहरु साथी नै पीडित बनेपछि झनै आक्रामक भएका हुन् ।
सुरक्षाकर्मीलाई समेत स्थिति नियन्त्रणमा लिन समस्या भएको छ । विद्यालय समय र कार्यालय समयमा भएको उक्त अवरोधले गर्दा कयौं यात्रु रिङरोडमै अलपत्र परेका छन् ।