काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो । आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएपछि सरकारमा गएको तत्कालीन संघीय समाजवादी फोरम त्यो सहमति पुरा नहुने देखेपछि सरकारबाट फिर्ता भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राख्ने प्रयास गरेपनि प्रधानमन्त्री ओलीले रोकेका थिए । सोसँगै यादव बैठकबाट बाहिरिएका थिए । त्यसपछि बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री यादवलाई प्रधानमन्त्री ओलीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्याएका थिए । यादव दिल्ली गएका बेलामा उनको स्वास्थ्य मन्त्रालय छिनिएको थियो । उनले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो भन्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय गएका थिए ।
यसअघि नै माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले सहकार्य गरे पछि सत्ता साझेदारी समाजवादी पार्टीले धोका भएको महशुस गरिसकेको थियो । नेकपा सरकाले सत्ताको साथी राजपालाई काखा र समाजवादीलाई पाखा गरेपछि समाजवादीका नेताहरु रुष्ट हुदै आएका थिए ।
समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष यादवले राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गर्न चाहेका थिए। सत्ता साझेदारी दल भएकोले पनि नेकपासँग सहकार्य हुनेमा उनी ढुक्क् थिए तर परिणाम उल्टो भयो ।
सरकार नछाडेपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीवीच हुनै लागेको एकीकरण भाँडिएको थियो । यस घटनापछि समाजवादी पार्टी र राजपावीच दुरी बढ्दै गयो भने समाजवादी र राजपाका नेताहरु औपचारिक अनौपारिक वार्ता कुराकानी पनि हुन छाडेको छ।
अब समाजवादी पार्टीले सरकार छाडेपछि राजपाका नेताहरु समाजवादी पार्टीसँग संविधान संशोधनको बिषयलाई लिएर एकमत हुनसक्ने देखिन्छ ।