काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवासलाई दुरुपयोग गर्ने क्रम बढेसँगै सत्तारुढ दलकै नेता कार्यकर्ताहरुले पनि यसको विरोध गर्न थालेका छन्। केपी शर्मा ओली प्रधानमन्त्री बनेर आएपछि वालुवाटारमा गरिएका कार्यक्रमका कारण विवादमा पर्दै आएका छन्। तर उनले ति सबै विवादका प्रसङगहरुलाई नजरअन्दाज गर्दै आएका छन्।
ओली प्रधानमन्त्री बनेर आएपछि उनले वालुवाटारको आफ्नो सरकारी निवासलाई पार्टी कार्यालय बनाउने मात्र होइन ओली वंशको कार्यालय समेत बनाइएकोमा विरोधको सामना गर्नुपर्यो। ओली वंशावलीको कार्यक्रम मात्र होइन तीजको भोज पनि लगाइयो। तत्कालिन एमाले निकट प्रेस चौतारीको भेला पनि वालुवाटारमै गरियो। पार्टीका केन्द्रीय तथा अन्य वैठकहरु त भएकै थिए। कतिसम्म भयो भने नेकपाका कार्यकर्ताहरुले वालुवाटारलाई पार्टी प्यालेस बनाउने समेत काम गरे।
प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी प्यालेस बनाउने कार्यमा कतिपयले आखा चिम्लिए पनि प्रधानमन्त्री पदको गरिमालाई अनि वालुवाटारको सरकारी निवासलाई दुरुपयोग गरेकोमा स्वयं नेकपाका कतिपय नेता कार्यकर्ताले विरोध गर्दै आएका छन्। यो विरोध नागरिकस्तरमा त छदै नै थियो।
तर पनि वालुवाटारलाई दुरुपयोगको सिलसिला रोकिएको छैन। अन्यत्र कतै कार्यक्रम गर्ने स्थल खोज्न ढीलाई भएपनि नेकपाका नेता कार्यकर्ताहरुले वालुवाटारलाई नै पार्टी प्यालेस बनाउन लाग्ने प्रवृती पनि बढेको छ। विगतमा अन्य दलका प्रधानमन्त्री हुँदा पनि दुरुपयोग भएको टिप्पणी गर्ने नेकपाका नेता कार्यकर्ताहरु फेरि यहि कुरा वारम्वार दोहोर्याइ मात्र रहेका छैनन विगत भन्दा वढी समेत गरिरहेका छन्। अनि यसो गर्दा यसको चित्त बुझ्दो जवफ समेत दिएका छैनन्।
यसैबीच १२ पुसमा बालुवाटारमै नेकपा निकट पत्रकारहरुको नवगठित संस्था प्रेस संगठनको राष्ट्रिय भेला राखेर फेरि वालुवाटारको दुरुपयोगलाई नयाँ उचाई दिन लागिएको छ। प्रेस संगठनकै एक नेताका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा संगठनका झण्डै चार सय कार्यकर्ताहरु भेला हुने भएका छन्।
एकपछि अर्को कार्यक्रम प्रधानमन्त्रीको सरकारी निवासमा राखेर राम्रो सन्देश नगएको बारेमा स्वयं प्रेस संगठनका नेताहरु पनि सन्तुष्ट देखिएका छैनन्। विघटित प्रेस चौतारीका बरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष सइन्द्र राई सहितका संगठनका धेरैले यसप्रति आपत्ति जनाएको संगठनकै नेताहरु बताउँछन्।
संगठनकै नेता सइन्द्र राईले त सामाजिक सञ्जालमा समेत आफ्नो असन्तुष्टी पोखेका छन्। राईले लेखेका छन्, 'संस्था र संगठनलाई बचाउन, गती दिन र उचाई लिन प्वाँख बन्नुपर्नेहरू नै किर्ना बन्ने बाटोमा लागे भने चाहेरै पनि परिणाम आशातित आउँदैन । लोकतन्त्र (जनवाद)सँग जोडिने बालुवाटार कमजोर पार्ने भनेकै यस्ता किर्ना प्रवृत्तिले हो । त्यसैले, वंशको होओस अथवा कुनै नामको सम्मेलन कम्तिमा त्यहाँ नगर्दा नै उचित होला। बालुवाटारको भोजमा मात्रै होइन, कुल्चिने माटो पनि खाडीको बगरमा बगेको पसिनाको सुगन्ध छ ।'
तर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ झै पार्टी भित्रका नेता कार्यकर्ता र पार्टी वाहिरका नागरिकको चासोलाई पनि वालुवाटारलाई आवास बनाएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र उनको सचिवालयले सुन्ने छाँट भने देखाएको छैन।