तराईमा घाम देख्न नपाइने, उपत्यकामा घाम लाग्ने, उडान रद्द हुने
प्रकाशित २०७६ पुष ११ शुक्रबार
665
Shares
काठमाडौं । शुक्रबार पनि चिसोले देशभरकै जनजीवन अस्तव्यस्त पार्ने भएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार उपत्यकामा मौसम सामान्यतया सफा छ । पहाडी केही भूभागमा आंशिक बदली
तराई हुस्सू, कुहिरो, सीतलहर चलेको छ ।
पोखरेलका अनुसार पूर्वमा अपरान्हपछि हुस्सू कुहिरो जान सक्ने देखिए पनि घाम लाग्ने सम्भावना कम छ । तराईमा घाम नदेखिने भएकाले चिसो नै रहने देखिएको छ । तराईमा हुस्सु र कुहिरो रहने भएकाले तराई भेकमा बिहानदेखि साँझसम्म नै हवाई यातायातमै प्रभाव पर्नेछ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा तराईको हुस्सू र कुहिरो जारी नै रहेको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शुक्रबार बिहान १.५ डिग्री सेल्सियस मापन भएको थियो । यो घट्न पनि सक्ने पोखरेल बताउँछिन् । बिहीबार ०.९ डिग्री थियो । जुन यो वर्षकै कम हो ।
हुम्लामा सबैभन्दा कम माइनस ७ डिग्री थियो ।
महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको बताएको छ ।
शनिबार र आइतबार पनि मौसम यस्तै नै रहने महाशाखाले जनाएको छ ।