राष्ट्रियसभाको निर्वाचन पछि प्रदेश २ सरकारमा नेकपा प्रवेश गर्ने तयारी
प्रकाशित २०७६ पुष ११ शुक्रबार
431
Shares
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी सत्तामा नभएको प्रदेश २ मात्र हो। त्यहाँ पनि नेकपा सत्तामा आउने तयारी सुरु गरेको छ। प्रदेश २ सरकारमा नेकपा आउन नेकपाका नेताहरू राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सहकार्य अघि बढाएका छन्। राजपासँग सहकार्य बढाउन नेकपाका नेताहरुले समाजवादी पार्टीसँगको सहकार्यलाई एकलौटी ढँगबाट तोडेका छन्।
राजपा स्रोत भन्छ, सभामुख, उपसभामुखको निर्वाचन र माघमा हुने राष्ट्रिय सभाको निर्वाचन पछि प्रदेश २ को सरकार फेर्न गृहकार्य सुरु हुने छ। त्यसबेलासम्म नेकपा र राजपाका नेताहरुले औपचारिक-अनौपचारिक केही बोल्ने छैनन्। राष्ट्रियसभाको चुनाव पछि नेकपा र राजपाका नेताहरुले फेरि भेट गर्ने छन् तर प्रक्रिया अघि बढाउने छन्।
राजपाका नेताहरुले अहिले ‘हाम्रा माग मुद्दा सम्बोधन भएमा हामी सरकारमा जान्छौ’भन्ने गरेका छन्। राजपाका एक पदाधिकारीले भने,‘संविधान संशोधन, रेशम चौधरीको रिहाइको पहल तथा मधेस आन्दोलनको क्रममा लगाइका मुद्दा खारेज गर्न प्रधानमन्त्रीले सहमति जनाउनु भएको छ। अब यसको जस राजपाले लिन्छ।’ती पदाधिकारीको भनाइ छ, हाम्रा मुद्दा पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नु भए पछि नेकपा र राजपाबीच सहमति हुन्छ। त्यसपछि राजपालाई संघीय सरकारमा जान बाटो खुला हुन्छ।’
प्रदेश २ मा नेकपाको संख्या ३३ र राजपाको संख्या २५ छ। नेकपा र राजपा मिलेमा ५८ पुग्छ। जव कि, प्रदेश २ सरकार बनाउन ५४ सांसद भए पुग्छ। राजपा स्रोत भन्छ, प्रदेश २ सरकरको नेतृत्व कसले गर्ने भन्नेमा अहिले नै नेकपा र राजपाबीच सहमति भएको छैन्। नेकपाले राजपालाई सरकारको नेतृत्व गर्न दिने सम्भावना पनि छ। उसले नेतृत्वको दावी आफैं पनि गर्न सक्छ। तर जे भए पनि प्रदेश २ सरकारमा राजपाका हैसियत अहिलेको भन्दा बढी हुने छ।’अहिले प्रदेश २ सरकारमा समाजवादी र राजपाको उपस्थिति बराबारी छ।
प्रदेश २ सरकारमा नेकपाका प्रवेश भयो भने मधेसमा नेकपालाई जाने बाटो खुला हुने छ। मधेसमा सुरु देखि नै नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपाको प्रभाव क्षेत्र मानिन्छ। त्यसैले पनि तराइ-मधेसमा कांग्रेस, राजपा र समाजवादी पार्टीका प्रभाव घटाउन नेकपाले राजपालाई यती धेरै महत्व दिएको हो–स्रोतले दावी गर्यो। राजपा स्रोत भन्छ, उपसभामुखमा नेकपाले राजपालाई दिने करिब करिब निश्चित छ।
उपसभामुखकोलागि राजपाभित्र अहिले अमृता अग्रहरी र चन्दा चौधरीको नाम चर्चामा छ तर पार्टीभित्र धेरैले चन्दा चौधरीको सम्भावना भएको बताउछन्। स्रोत भन्छ, पुस २ गते राष्ट्रिय सभाको निर्वाचनमा नेकपा र राजपावीच सहकार्य गर्ने सम्झौता भए पछि पनि नेकपा र राजपाका नेताहरुबीच पटक पटक अनौपचारिक सम्पर्क भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोबीच पनि टेलीफोनमा कुराकानी भएको स्रोतको भनाइ छ। राजपालाई अहिले दुई तिर अवसर छ। एकातीर समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने अवसर छ। अर्कोतीर संघीय सरकरमा जाने अवसर छ। यी दुइ विकल्पमध्ये कुन विकल्पलाई पहिलो प्राथमिकता दिने भन्ने बारेमा अहिले राजपाका नेताहरु विभाजित भएका छन्।
समाजवादीका नेताहरु भने सरकारबाट बर्हिगमन पछि राजपासँग सहकार्य गर्न खोजेका छन्। राजपाका शर्त अनुसार आफू सरकारबाट बाहिरिएको राजपाका नेताहरु बताउछन्। यसअघि राजपा र समाजवादी पार्टी एकीकरण प्रक्रियामा राजपाका नेताहरुले पार्टी एकीकरणकोलागि समाजवादी पार्टीले सरकार छाड्नु पर्ने शर्त राखेका थिए तर समाजवादी पार्टी भने सरकार छाड्न विभिन्न बाहना गर्दै आलटाल गर्दै आएको थियो। तर अहिले बाध्य भएर समाजवादी पार्टीले सरकार छाडेको राजपाका नेताहरुको बुझाइ छ।