काठमाडौंका मेयर शाक्यले खुल्लामञ्चमा कार्यक्रम गर्न नदिन जारी गरे उर्दी
प्रकाशित २०७६ पुष १२ शनिबार
640
Shares
काठमाडौं। आम सर्वसाधारणको प्रयोगको लाग खुल्ला राखिएको खुल्लामञ्च तत्काल खाली गर्नु पर्ने माग गर्दै अभियन्ताहरुले शुरु गरेको कार्यक्रम यतिखेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आँखामा बिझेको देखिएको छ।
सार्वजनिक स्थानहरुलाई अनधिकृत रुपमा प्रयोग गर्न दिएर लाभ लिन पल्केको नेकपा नेतृत्वको सरकार र उसकै नेतृत्वको महानगरपालिका नेतृत्व अहिले खुल्लामञ्चलाई व्यवसायिक प्रयोजनमा दिन नहुने र त्यहाँबाट वसपार्क तथा गाडी पार्किङ हटाउन माग राख्दै आएका अभियन्ताहरु बिरुद्ध खनिन थालेको छ।
महानगरपालिकाका मेयर शाक्यले अकुपाइ टुँडिखेलका अभियन्ताहरुको अभियानलाई आफनै बिरुद्धमा भएको झै गरि उनीहरुको कार्यक्रमलाई भाड्न लागिपरेको अभियन्ताहरुको गुनासो छ।
शनिवार अभियानकै कार्यक्रमका लागि खुल्लामञ्च पुगेका अभियन्ताहरुलाई उनले कार्यक्रम गर्न नदिन उर्दी जारी गरे। कार्यक्रम हुन नदिन उर्दी मात्र जारी गरेनन प्रहरी नै लगाएर कार्यक्रम भाड्न खोजे।
मेयर शाक्यले खुल्लामञ्चमा आएर दुई चार जनाले कराएर 'हीरो' बन्न खोज्दैमा केहि फरक नपर्ने भन्दै आफू निकटहरुलाई भनेर कार्यक्रम हुन नदिन प्रहरी परिचालन गरेको अभियन्ता इन्जिनियर सुसन वैधले बताए।
काठमाडौंका नागरिकको लागि खुल्ला स्थान कति महत्वको छ भन्ने सबैलाई जानकारी हुँदाहुँदै मेयर भने खुल्ला स्थान मास्न तथा ओगटेर राख्न खोजेबाट उनको आमनागरिकप्रति जवाफदेखि नदेखिएको वैधले बताए।
शनिवार चीसोको वावजुद दर्जनौ अभियन्ताहरु खुल्लामञ्च पुगेपनि कार्यक्रम गर्न प्रहरी प्रसासनको वाधाको सामना गर्नुपरेको अभियन्ताहरुको गुनासो छ। उनीहरुले सार्वजनिक स्थानहरु खुल्ला राख्न र कसैबाट पनि मिचिन नदिन उपत्यकावासीहरुले सबै स्थानमा चनाखो भएर लाग्नुपर्ने बताए।