कांग्रेस पूर्व जिल्ला सभापतिको निधन : देउवाद्वारा दु:ख व्यक्त, पौडेलले अस्पताल पुगी ओढाए झण्डा
प्रकाशित २०७६ पुष १५ मंगलबार
575
Shares
काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति प्रेमराज राईको निधन भएको छ । पूर्व जिल्ला सभापति राईको ७२ वर्षको उमेरमा सोमबार राति काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राई नेपाली कांग्रेसका नेता स्वर्गीय बलबहादुर राईका ज्येष्ठ सुपुत्र हुन् । राईले नेपालको प्रजातान्त्रिक-लोकतान्त्रिक आन्दोलनहरु तथा कांग्रेस पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह थिए ।
उनका श्रीमती, दुई छोरा, दुई छोरी छन् । २००४ साल असार ११ गते जन्मिएका राई सानै उमेरबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै आएका थिए । पिता बलबहादुर राई प्रवासमा रहँदा प्रेमराज राई पनि भारतमै रहेका थिए। पञ्चालयतकालमा पटक पटक गरी उनी साढे तीन वर्ष जेल परेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भने— “नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति प्रेमराज राईको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा स्वर्गीय राई पटक–पटक जेल जीवन र प्रवास समेत बस्नु भयो । स्वर्गीय राईले पार्टी संगठनमा पुर्याएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल मंगलबारै अस्पताल पुगी उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसैगरी श्रद्धाञ्जलीका लागि पार्टीका महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशरण महत, केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु— डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू लगायतका नेताहरु एवं पार्टीका कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।
स्वर्गीय राईको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि मंगलबार नै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. १ मोलीमा रहेको उनको पुख्र्यौली निवासतर्फ लगिएको छ ।