सभापति देउवाले ध्रुवीकरण गरेर पार्टीलाई गम्भीर क्षति पुर्याएको सिटौलाको आरोप
गुटको नभइ सिंगो पार्टीको सभापति बन्न देउवालाई गराए सिटौलाले ध्यानाकर्षण
प्रकाशित २०७६ पुष १५ मंगलबार
507
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले हालै संस्थापन इतर सहभागी नभएको वैठकबाट गरेको निर्णयप्रति असहमति जनाउँदै सभापति शेरबहादुर देउवालाई पत्र लेखेर ध्यानाकर्षण गराएका छन्। सिटौलाले केन्द्रीय समितिको पछिल्लो निर्णय सच्याउन माग गर्दै सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा सहमतिबाट मात्रै निर्णय लिन आग्रह गरेका छन् ।
दुई पृष्ठ लामो ध्यानाकर्षण पत्रमा बुझाउँदै सिटौलाले सभापति देउवालाई गुटको मात्र नभइ सिंगो पार्टीको सभापति हुन स्मरण गराएका छन्। “१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित तपाईंको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो,” उनले ध्यानाकर्षण गराउँदै भनेका छन्,“ यो जिम्मेवारी निर्वाह गर्न तपाईं कुनै गुटको होइन, नेपाली कांग्रेसको पार्टी सभापति हो भन्ने कुरा स्मरण गरेर साथै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्दछ।”
सभापतिले नै गुट चलाएर पार्टी बलियो नहुने भन्दै सिटौलाले ध्यानाकर्षण पत्रमा लेखेका छन्, “पार्टीको बृहत् एकतानै आजको अपरिहार्य र प्रथम आवश्यकता हो । त्यसैले पार्टीको बृहत्तर हितमा एकतालाई मजबुद बनाउनका लागि पार्टीको विधान प्रयोग र सो अनुरुप सहमतिबाट निर्णय गर्नको लागि पार्टी सभापतिको रुपमा पहलकदमी लिन पुनः आग्रह गर्दछु ।”
सिटौलाले पुष ११ गते भएको वैठक पार्टीको परम्परा विपरित रहेको उल्लेख गर्दै सिटौलाले पुस ११ गते केन्द्रीय समितिको बैठक जसरी सम्पन्न भयो, यो पार्टीको परम्परा विपरीत त छनै, साथै आजको विषम् परिस्थितिमा पार्टी र लोकतन्त्रको हित विपरीत भएको बताएका छन्।
पार्टीको महाधिवेशन जस्तो सर्वाधिक महत्वपूर्ण विषयको कार्यतालिका र कार्यविधि बहुमत–अल्पमतबाट निर्णय गर्ने कुरालाई कुनै पनि तर्क, बहाना वा परिस्थितिले यसको औचित्य पुष्टि गर्न नसक्ने सिटौलाले बताएका छन्।
सभापतिको कदमबाट महाधिवेशन हुने कुनै प्रत्यााभुती नहुने बरु उल्टै ध्रुवीकरण बढ्दै पार्टीलाई नै अपुरणीय क्षती पुग्ने चिन्ता समेत सिटौलाले व्यक्त गरेका छन्।