arrow

संसदलाई बन्धकमुक्त बनाउला त नेकपाले ? शुक्रबारे सचिवालय बैठक बालुवाटारमा

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
ncp-sachibalaya2.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । शुक्रबार बिहान ८ः३० बजे बस्ने गरी बिहीबारको बैठक स्थगित भएको थियो । 

बिहीबार राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।  

बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि सो विषयमा बिहीबार छलफल हुन सकेन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा) लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ । 

शुक्रबारे बैठकमा सभामुख चयन, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकले प्रदेश १ र ५ को नाम र राजधानीबारे पनि छलफल गर्ने नेताहरुले बताएका छन् ।

बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए ।

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेशसभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो ।

सभामुख चयनमा सकस
यता सभामुख चयन भने सकसपूर्ण बनेको छ । झण्डै दुई तिहाइको केपी शर्मा ओली नेतृत्वको सरकार अहिलेसम्मकै कमजोर सरकार बन्दै गएको छ । स्पष्ट बहुमतसहित सत्ता संचालन गरे पनि आन्तरिक विवादका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय संसदलाई अनिर्णयको बन्दी बनाएको छ। 

प्रतिनिधिसभामा रिक्त सभामुखमा आफ्नो उम्मेदवार चयन गर्न नसकेपछि नेकपाले संसदलाई बन्दी बनाएको हो । असोज १४ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ । 

नेकपाभित्र एकसे एक सभामुख बन्न लायक सांसदहरु छन् भनी गर्व गर्छ नेकपा। तर गुटबन्दीका कारण उम्मेदवारसमेत चयन गर्न भने सकेको छैन। 

दुई तिहाईको सरकार हुँदासमेत कुनै पनि राम्रा काम गर्न नसकेको ओली सरकारको यही गुटबन्दी र धोकाकै कारण समाजवादी पार्टी सरकारबाट बाहिरियो । 

के भइरहेछ संसदमा ? 
गत पुस ४ गतेदेखि अर्ली हिउँदे अधिवेशन बसेर सभामुख चयन गर्ने बताइयो । 

४ गते राष्ट्रपतिको पत्र पढियो । दिवंगत पूर्व सांसदहरुको सम्झनामा शोक पारित गरियो । अनि एकैपटक ११ गतेका लागि संसद डाकियो । 

त्यो बैठक बस्दै नबसी १६ गतेसम्मका लागि स्थगित गरियो। 

फेरि पनि संसद बसेन । सूचना टाँसेरै पुस २७ गतेसम्मका लागि स्थगित गरियो । प्रतिनिधिसभाको बैठक दुईपटक सूचना टाँस गरेर स्थगित भइसकेको छ ।

२७ गते पनि यसै हुन्छ भन्ने छैन । 

विवाद के हो ?
विवाद अरु कसैले गरेको हैन । विवाद नेकपाभित्रको हो । स्पष्ट बहुमत भएपछि जो उम्मेदवार बन्छ ऊ भावी सभामुख हो । 

तर सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद छ । सभामुखको उम्मेदवार चयनका लागि पार्टीका दुई अध्यक्षहरुबीच खिचातानी छ । ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक–पटक छलफल भएको छ । तर सहमतिमा पुग्न सकेका छैनन् । 

ओलीको इच्छा पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने भन्नेमा छ। 

तर प्रचण्डलाई भने अग्नि सापकोटालाई नै सभामुख बनाउने भन्ने नै छ । 

दुई जनाको बीचमा छिरेकी छिन् राष्ट्रपति विद्यादेवी भण्डारी पनि। भण्डारी वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नै सभामुख बनाउनुपर्ने पक्षमा छिन् ।

तुम्बाहाङ्फेले सभामुख बन्नका लागि उपसभामुखबाट राजीनामा दिनुपर्छ । उनले अहिलेसम्म राजीनामा दिएकी छैनन् । राजीनामा पनि दिने तर सभामुख बन्न नपाइने भयो भने वर्वाद हुन्छु कि भन्ने पनि उनलाई छ । 

उनलाई ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री खान आउन भने पनि उनले मानेकी थिइनन् । 

अहिले उनी दोधारमा छिन् । संविधानमा एउटै पार्टीको सभामुख र उपसभामुख बन्न नपाउने भन्ने नियम छ । यसअघि सभामुख र उपसभामुख चयन गरेर मात्र एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बनेको थियो । 

अब त्यो अवसर छैन । 

 ‘इगो’ भागबण्डाको

सभामुख पद ‘इगो’ को विषय बन्न पुगेको छ । दुई अध्यक्षबीच पटक पटक छलफल भएको छ तर सहमति हुन सकेको छैन । 

प्रचण्ड नेम्वाङप्रति नकारात्मक नभए पनि उनलाई पूर्व माओवादीबाटै माओवादी भित्रको मान्छेलाई उम्मेदवार बनाउनु पर्ने दवाव छ । 

किनकि महरा माओवादीको भागबण्डामा परेको सभामुख पद पाएका थिए । भागबण्डामा प्रधानमन्त्री एमालेलाई, उपसभामुख एमालेलाई, राष्ट्रिय सभाको अध्यक्ष एमालेके भएपछि सभामुख माओवादीकै भागमा रहेको हो । 

त्यो भागबण्डा नछाड्न प्रचण्डलाई माओवादीबाटै दवाव छ। त्यो दवावले अग्नि सापकोटालाई सभामुख बनाउन सक्छ। 

पूर्व माओवादी निकट स्रोतका अनुसार सभामुख पद कुनै पनि हालतमा प्रचण्डले छाड्ने छैनन् । बाहिर जस्तासुकै हल्ला आए पनि सापकोटासमेत ढुक्क छन् । 

तुम्बाहाङफे कुनै पनि बेला फालिन सक्छिन् । नेम्वाङलाई सभामुख बनाउन नसके सापकोटालाई पनि नदिने तर राष्ट्रपतिको मान राख्ने मनस्थितिमा ओली जान पनि सक्छन् । 

पल्ला कता भारी हुन्छ भन्ने हो । नेकपा सचिवालयमा पूर्व एमालेकै पकड भएकाले सचिवालयले छान्नुपर्दा सापकोटा फालिन्छन् । 

माओवादी स्रोतका अनुसार नेम्वाङलाई सभामुख बनाउनका लागि सापकोटाको मुद्दाका विषय उठान गरिएको आरोप पनि छ । 

प्रचण्डलाई घनचक्कर 
प्रचण्डले पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएका छन् । पहिले ओलीले अध्यक्षता गर्दै आएकामा पछिल्लो बैठकमा ओलीको कुर्सी संगसंगै प्रचण्ड पनि पुगेका छन् । उनी दंग छन् । 

त्यो दंग मनले कतै सभामुख जान्छ कि भन्ने पनि छ । त्यसैले पूर्व माओवादीहरु दवाव दिइरहेका छन् प्रचण्डलाई।

यदि प्रचण्डले सभामुख छाडे भने पार्टीमा पूर्वमाओवादी खेमाबाटै प्रचण्डलाई भविष्यमा घात हुन सक्छ । किनकि उनले अडानलाई छाड्दै आएका छन् । 

यसरी विवाद चर्किदै जाँदा संसदलाई बन्धक बनाउने नेकपाले अरु के एकता गरेर अगाडि बढ्ला खै भन्ने प्रश्न पनि उब्जिएको छ । 

पुस २७ गते एकता दिवसलाई काटेको सरकारले कतै पृथ्वीनारायण शाहको सम्झना गर्दै आपसमा एकता गरी मुलुकलाई सभामुख पो दिने हो कि !                   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ