arrow

२०२० मा दुई सूर्यग्रहण र चार चन्द्रग्रहण, सात दिनपछि चन्द्रग्रहण

पौष २५ मा चन्द्रग्रहण, अर्को सूर्यग्रहण असार ७ मा लाग्दै

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
eclipse.jpg

काठमाडौं ।  नेपाल लगायतका देशहरुबाट हालै  खण्डग्रास सूर्यग्रहण  देखिएको थियो । यस्तै सन् २०२० मा छ वटा ग्रहण लग्दैछन् । जसमा दुई सूर्यग्रहण र चार चन्द्र ग्रहण रहेका छन् ।

चन्द्रग्रहण
पहिलो चन्द्रग्रहण पौष २५  (१० जनवरी) मा लाग्नदैछ । सो चन्द्रग्रहण नेपालसहित भारत लगायतका देशबाट देख्न सकिनेछ। दोस्रो चन्द्रग्रहण  २०७७ सालको जेठ २३ गते (५ जुन) मा लाग्नेछ । यो चन्द्रग्रहणको पनि नेपाललगायत छिमेकी देशबाट देख्न सकिनेछ ।

तेस्रो चन्द्रग्रहण २०७७ सालको असार २१ गते (५ जुलाई) २०२० मा हुनेछ। चौथो चन्द्रग्रहण वर्षको अन्तिम चन्द्रग्रहण हुनेछ जुन २०७७ मंसिर १५ गते ( ३० नोभेम्बर) मा देखिने छ। यो ग्रहण पनि नेपाल भारत लगायतबाट देखिने छ।

हिन्दू धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ । यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ । ग्रहणकालमा धेरै किसिसमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ ।

ग्रहणको क्रममा अन्न र जल खानुहुँदैन । चन्द्र ग्रहणको क्रममा स्नान पनि गर्नुहुँदैन । ग्रहण सकिएपछि वा शुरु हुनुभन्दा अघि स्नान गर्नु राम्रो हुन्छ । ग्रहणलाई खुला आँखाले हेर्नुहुँदैन । यसले आँखामा नकारात्मक असर पार्नसक्छ । ग्रहणको क्रममा मन्त्रको जप गर्न सकिन्छ ।

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्।

फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो।

चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ । भने सूर्यग्रहण औंशीका दिन लाग्दछ प्रत्येक औंसी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला । सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन।

पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसित मेल खान्छन्। अर्थात् सूर्य र पृथ्वी सित एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्। त्यसबेला ग्रहण हुन्छ। ज्योतिष शास्त्रका अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।

सूर्यग्रहण
यही पुस १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको थियो । २ घण्टा ४९ मिनटको थियो ।  अब भने  २०७७ असार ७ गते फेरी लाग्नेछ ।  २०२० को यो पहिलो सूर्यग्रहण हो जुनको २१ मा पर्नेछ । त्यस्तै दोस्रो सूर्यग्रहण २०७७ को मंसिर २९ गते (१४ डिसेम्बर २०२०)  मा लाग्नेछ  ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्छ । सूर्यको प्रकाश चन्द्रमाले छेक्दा पृथ्वीमा पर्ने छायाँलाई नै सूर्यग्रहण भनिन्छ । पूरै सूर्य ढाक्ने गरी अर्थात् खग्रास सूर्यग्रहण पृथ्वीको एक स्थानमा ३७५ वर्षको अन्तरमा मात्र लाग्ने  छ । पृथ्वीबाट सूर्य लगभग १५ करोड किमि टाढा छ । सूर्यको व्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ । चन्द्रमाको व्यास पृथ्वीको एक चौथाइमात्र छ ।

हालैको खण्डग्रास सूर्यग्रहण साउदी अरबबाट ‘रिङ अफ फायर’ देखिएको थियो । कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य भयो । बिरल छायाँ भने पूर्वी युरोपको केही भाग, एशियाको अधिकांश भाग र अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिएको थियो  ।

सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ ।ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ