संचारमन्त्री बाँस्कोटा नेकपाको दस्तावेजविरुद्ध उत्रिए, भन्छन् –सशस्त्र युद्ध काम नलाग्ने युद्ध हो
संचारमन्त्रीको बोली उनकै की प्रधानमन्त्री केपी ओलीको
प्रकाशित २०७६ पुष १८ शुक्रबार
1.1k
Shares
काठमाडौं । संचारमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले तत्कालीन नेकपा माओवादीको सशस्त्र द्धन्द्धलाई काम नलाग्ने युद्धको संज्ञा दिएका छन् ।
सुदूरपश्चिमको यात्रा गर्ने क्रममा केही दिनअघि डडेल्धुरामा भएको एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘१० वर्ष हामीले व्यर्थैमा काम नलाग्ने युद्ध लडेर बितायौं।’
तर त्यही काम नलाग्ने युद्ध गरेर आएका माओवादीसंग एमालेले पार्टी एकता गरेर नै झण्डै दुई तिहाईको समर्थनको सरकार बनाइरहेको छ ।
तत्कालीन माओवादी पार्टी पंक्तिले सशस्त्र द्धन्द्धको त्यो कालखण्डलाई गौरवका साथ लिने गर्दछ । सरकारका प्रवक्ता रहेका संचारमन्त्रीको यो अभिव्यक्तिले तत्कालीन माओवादीका कार्यकर्तामा भने आक्रोश पैदा गरेको छ ।
जबकि नेकपाको दस्तावेजमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा सशस्त्र जनयुद्धको बारेमा सगौरब उल्लेख गरिएको छ ।
त्यही सगौरब प्रस्तुत गरिएको राजनीतिक गाथालाई संचारमन्त्रीले काम लगाग्ने युद्ध भन्दै आलोचना गरेपछि बाँस्कोटाको विरोध पनि शुरु भएको छ।
सशस्त्र द्वन्दका बिषयमा मात्र होइन डडेल्धुरामा बाँँस्कोटाले कांग्रेस सभापति शेर बहादुर देउबा र सुपका नेकपाका नेता भीम रावलमाथि पनि शब्द वाण हाने।
एमाले र माओवादीबीच पार्टी मिले पनि मन मिलेको छैन भनी नेताहरुले भन्दै आइरहेका अवस्थामा संचारमन्त्रीले बोलेको त्यो बोली उनको आफ्नो नभई प्रधानमन्त्री केपी शर्मा ओलीको हो भन्नेहरु पनि छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साइजमा राखिराख्न पनि ओलीले कहिले संचारमन्त्री बाँस्कोटा त कहिले रक्षामन्त्री ईश्वर पोखरेललाई यस्तो बोली बोल्न लगाउने गरेको आरोप लाग्दै आएको छ । ईश्वर पोखरेल भने जबजको सिद्धान्तलाई उचालिरहन्थे ।
पार्टी एकता भए पनि अझै मन भने मिल्न नसकेको आरोप लाग्दै आएको छ । नेकपाको पूर्ण एकता अझै हुन सकेको छैन ।