नवलपुर । नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ नवलपुरद्वारा संचालित महायज्ञमा बुधबार विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति भएको छ ।
गत पुस २७ गतेदेखि संचालित पितृ मोक्ष महायज्ञमा बुधबार केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराज र परमपुजनिय कालिबाबाको उपस्थिति रहेको थियो ।
उनीहरुलाई आयोजक तथा उपस्थित हजारौं भक्तजनहरुले भब्य स्वागत गरेका थिए । मध्यबिन्दु रङ्गशालासम्म हेलिकप्टरमा आएका दुबैलाई भजन कृतन, झाँकी र बाजागाजा सहित यज्ञ शाला लगिएको थियो ।
महायज्ञमा कालिबाबा उपस्थित भएको करिब १ घन्टा ३० मिनेट पछाडि केदारनाथका पिठाधिशको उपस्थिति रहेको थियो ।
उपस्थित भएका हजारौं भक्तजनलाई आशिरबचन दिने क्रममा कालिबाबाले नेपाल देवभूमि भएको उल्लेख गर्दै देवभूमि ढिलो चाँडो हिन्दू राष्ट्र हुनेमा शंका नरहेको बताएका थिए ।
उनले नेपालको माटो नै चन्दन जस्तो पबित्र रहेको उल्लेख गर्दै भने, ‘म यो देवभूमिलाई दुईवटा मेडिकल कलेज र एक विश्वविद्यालय दिनेछु ।’
उनले नेपालभित्र आफुले मेडिकल कलेज र विश्वविद्यालय बनाउन चाहेको बताएका थिए । यसअघि पनि उनले नेपाल तथा भारतको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरेको बुझिएको छ ।
कालिबाबालाई नबजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्की लगायतका आयोजकले अभिनन्दन गरेका थिए भने १७ करोड लगायत रहने गरी तयार गरिएको क्याम्पसको गुरुयोजना प्रदान गरिएको थियो ।
त्यस्तै केदारनाथका पिठाधिशलाई पनि प्रधान संरक्षक कार्कीले सम्मान स्वरुप आरती प्रदान गर्दै अभिनन्दन गरेका थिए ।
गुरुयोजना ग्रहण गर्दै कालिबाबाले क्याम्पसको शैक्षिक उन्नयनका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कालिबाबाको बिदाई पछि उपस्थित भएका केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजले आशिरबचन दिने क्रममा नेपाल देवताहरुको बासस्थान रहेको उल्लेख गर्दै केदारनाथमा भगवान शिबको पिठको भाग र नेपालको भक्तपुरमा रहेको डोलेश्वर महादेबको मन्दिरमा भगवानको शिरको भाग रहेका कारणले नेपाल भारतको सम्बन्ध भगवानकै पालोदेखि रहेको बताएका थिए ।
उनले भक्तजनहरुले गरेको स्वागत र सम्मानले आफू पुलकित भएको बताउँदै मकर संक्रान्तिको दिन केदारनाथ भगवानसङ्ग नवलपुरका भक्तजनको यशोभिवृद्धिका लागि प्रार्थना गर्ने बताएका थिए ।
जगतगुरु शिवाचार्य ३ दिन महायज्ञ स्थलमा नै रहने छन् भने कालिबाबा बुधबारै झापा गएका छन् । केदारनाथ पिठाधिश्वर देबघाटमा मकर स्नान पश्चात् र कालिबाबा पशुपतिको दर्शन पछि महायज्ञमा आएका थिए ।
कालिबाबा र जगतगुरु शिवाचार्यको उपस्तिथिले महायज्ञमा छुट्टै रौनक थपिएको थियो । भक्तजनको उपस्थिति धेरै भएकाले ब्यवस्थापनका लागि आयोजकलाई हम्मेहम्मे परेको थियो ।
माघ ६ गतेसम्म चल्ने महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्यद्वारा समस्त पितृको मुक्तिका लागि बिशेष पुजाको ब्यवस्था गरिएको छ भने अल्प आयुमै मृत्युवरण गरेका मानिसहरुको आत्माशान्तिका लागि नारायणवली सहितको विशेष पुजा हुने आयोजकले बताएको छ ।
स्नातकोत्तर कक्षा संचालन, स्नातक तहमा स्तरिय प्राविधिक शिक्षा र सुबिधा सम्पन्न क्याम्पस संचालनार्थ आयोजित महायज्ञको चौथो दिनसम्म आउँदा ३ करोड ५० लाख भन्दा बढी चन्दा रकम संकलन भइसकेको आयोजकले बताएको छ ।