'रावलको ज्यान मार्ने धम्की बालुवाटारबाट आयो भनेर सोच्नु सत्य होइन'
प्रकाशित २०७६ माघ २ बिहिबार
653
Shares
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको र उनीमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले “विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन”, उनले भने, “यदि साँच्चै उहाँमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।”
“रावल नेकपाकै नेता हुनुहुन्छ, उहाँको सुरक्षा व्यवस्था सरकारले नै मिलाइरहेको छ । पछुवा पनि छ, साथमा पनि सुरक्षाकर्मी छन्”, उनले भने, “उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन, बालुवाटार धम्की आयो भनेर सोच्नु राम्रो पनि नहुने र सत्य पनि होइन ।”