काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् । उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ । प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ ।’ यद्धपी उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन छन् ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए । उनले भने,‘डिएफआईडी खासगरी युएनअन्तर्गतका अरु थुप्रै प्रोजेक्टहरु यहाँ सञ्चालित छन् । ती सञ्चालन गर्नको लागि सदनबाट पारित गरेर कानून बनाउनु परेको छैन् ।’
उनले एमसिसी कम्प्याक्टको बारेमा आफूहरुले गहन अध्ययन तथा अनुशन्धान गरेर नै बोलेको पनि स्पष्ट पारे । उनले भने,‘बाहिर सम्झौताको अध्ययन नै नगरी बोल्यो भन्नेपनि छ, तर मैले यो कम्प्याक्ट पूरै अध्ययन गरेको छु । अस्ति भर्खरै अमेरिकी दुतावासले जारी गरेको दश बुँदे निश्कर्षपनि हेरें । ’ उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो । नेपालमा ठूलो भुकम्प आयो, किन ग्रान्ट दिएन् ?’
पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन् । हामी अमेरिकाको ५५ अर्ब नगुमोस भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैनथियो भन्ने उनको तर्क छ ।
नेता पौडेलले सभामुखमा उम्मेदवारी दिएका अग्निप्रसाद सापकोटाले सबैलाई मिलाएर सहमति र एकताकासाथ अघि बढाउन सक्ने विश्वास व्यक्त गरे । उनले भने,‘मैले त उहाँसँग लामो समयदेखि सहकार्य गर्दै आएको छु । उहाँ सुरुमा शिक्षक संगठनमा सक्रिय हुनुहुन्थ्यो । हामी विद्यार्थी कालदेखि नै सक्रिय थियौं । उहाँ भूमीगत राजनीतिमा सक्रिया हुनुभएको नेता हो । कतिपयले उहाँलाई आफ्ना छोराछोरीलाई पढाएर, बचाएर हिँडेको मान्छे पनि भन्ने गरिन्छ । तर, उहाँ त आफन्त, छोराहरु लिएर भुमिगत आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँ तीन–तीन पटक सांसदमा निर्वाचित हुनुभयो ।’
उनले सापकोटा योग्यहरुमध्येको योग्य उम्मेदवार भएको बताए । उनले भने,‘उहाँ योग्य उम्मेदवार हो । शिवमायापनि योग्य उम्मेदवार नै हुनुहुन्थ्यो । सुवासजी पनि योग्य हुनुहुन्थ्यो । पार्टीभित्र छलफल भयो । कहिलेकाहीँ आकस्मिकता र संयोगले हुन्छ, अहिले सापकोटाजीको सभामुखमा जीत सुनिश्चित छ ।’ उनले सापकोटालाई सभामुखको सफल कार्यकालको शुभकामना समेत दिए । उनले भने,‘हामी सबैको उहाँलाई साथ र सहयोग रहन्छ । उहाँले अब सबैलाई मिलाएर जानुपर्छ ।’
उनले उपसभामुख कसलाई दिने भन्नेबारे छलफल चलिरहेको पनि सुनाए । सभामुखको चयन भएपछि उपसभामुखकोबारे टुँगो लाग्ने उनको भनाई छ । उनले भने,‘उपसभामुख को हुन्छ ? भन्नेबारे छलफल चलिरहेको छ । कांग्रेसबाट पनि हुन्छ, वा चित्रबहादुर दाईको दलबाट पनि हुनसक्छ । यसबारेमा छलफल भैरहेको छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले सभामुखमा उम्मेदवारी दिएका अग्नि प्रसाद सापकोटाले कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने सुझाव दिएका छन् । उनले भने,‘उहाँ सभामुखको साझा उम्मेदवार हो । अब उहाँले आग्रह र पूर्वाग्रह त्यागेर काम गर्नुपर्छ । बास्तवमा अघि ऋषिजीले भनेजस्तै उहाँको अग्निपरीक्षा सुरु भयो ।’
उनले व्यक्तिग रुपमा आफ्नो पनि सापकोटासँग राम्रो चिनजान भएको र खुल्लामञ्चको विषयमा साथ दिएको सुनाए । उनले भने,‘उहाँ व्यक्तिगत रुपमा पनि असाध्यै राम्रो मान्छे हुनु्हुन्छ, उहाँले जनताको ईस्युमा साथ दिने प्रखर नेताको छबि बनाउनुभएको छ । हिजो सुवासजीले २ पटक सभामुखको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले जुन किसिमले आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो, त्यो हामीलाई ठिकै लागेको थियो । तर, पछिल्लो पटक महराजी सभामुख हुनुभयो, उहाँको भूमिका त्यस्तो पाएनौं । सुवासजी त अवरोधलाई पनि छलफलको माध्यमबाट समाधान निकाल्नुहुन्थ्यो । अब अग्निजीले पनि सुवासजीको जस्तै भूमिका निभाउनुहोला ।’ उनले सभामुखमा कसैको उम्मेदवारी नपरेकोले सापकोटा सर्वसम्मतीले विजयी हुने बताउँदै उपसभामुखमा कांग्रेसको दाबी हुने बताए । ’
नेता प्रधानले एमसिसीको कम्प्याक्टको सबै कुरा वेबसाईटमा भएकोले नेपालले सबै मापदण्ड पूरा गरेर पाएको दाबी गरे । उनले भने,‘अब यसको लिगल स्टाटस चाहिएको छ । सबैले यसलाई स्विकार्नुपर्छ । अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ । यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ ।’’ उनले एमसिसीको बारेमा बोल्दा अध्ययन तथा अनुशन्धान गरेर बोल्नुपर्ने सुझाव दिए । उनले भने,‘हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्यो, त्यो त्यतिकै कोलाप्स भयो । त्यो लागु भएको भए धेरै राम्रो हुन्थ्यो ।’
एमसिसीमा भारतको पनि सहमति लिनुको कारण नेपालको उर्जा खेर नजाओस भन्ने नै भएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘साझा दस्तावेजको रुपमा एमसीसीलाई पारित गर्नुपर्छ । नेपालको समृद्धिको लागि एमसिसी चाहिएको छ । कांग्रेस पारित गर्ने पक्षमा छ ।’ उनले सरकारले ल्याउन लागेको सूचना प्रविधि विद्येयकमा आफूहरुको विरोध व्यापक रहेको स्पष्ट पारे । उनले भने,‘दण्ड सजायको प्रावधान नै गलत छ । यो प्रावधान हटाउनुपर्छ । यसो गर्दा सरकारलाई नै फाईदा हुन्छ ।’