arrow

चौध किलोको भाले !

logo
रामबहादुर थापा,
प्रकाशित २०७६ माघ १० शुक्रबार
chicken.jpg

बागलुङ। उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल। भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ। यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिनहरु काटिरहेको छ। गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो । डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आँकलन कुखुरा पालकको छ।

“यो भाले परीक्षणका लागि लामो समय पालिएको हो”, फार्मका सञ्चालक विजय शर्माले भने, “अब यो धेरै समय यहाँ रहँदैन होला।” ‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको उनको भनाइ छ। उक्त भालेले अहिलेसम्म छ किलोभन्दा बढी दाना खाइसकेको छ। उचित हेरचाहले भाले निरोगी छ।

“भाले किन्नका लागि धेरैले सोधिरहनुभएको छ, वनभोज जाने या त्यस्तै समूह आए बेच्ने तयारीमा छु”, शर्माले भने। उक्त भालेलाई अहिले बेच्दा बजार मूल्य रु तीन हजार २०० पर्छ। बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन्। कतिले उचाल्छन् पनि। भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ।

नाफा घाटा हेर्दा बुढो हुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ। ४५ दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ। ४५ देखि ६० दिनभित्र कुखुरा बेच्न योग्य हुन्छ। ‘ब्रोइलर’ कुखुराको आयु छदेखि आठ महिनासम्म हुने बताइन्छ।

शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा छन्। घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ। ‘फार्म’मा अहिले एक हजार कुखुरा छन्। उनलाई व्यवसायमा श्रीमती गीताको दरिलो साथ छ।

“१६ वर्ष भयो कुखुरापालनमा लागेको, रु ४५ हजारबाट शुरु गरेको लगानी अहिले रु १२ लाख बढी पुगेको छ”, गीताले भनीन्। शुरुमा घरकै सानो कोठाबाट शर्मा दम्पतीले कुखुरापालन व्यवसाय शुरु गरेका थिए। अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहेका छन्। वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन्।

एक पटकमा झण्डै रु ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ। बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ। अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ। कुखुरापालनसँगै शर्मा दम्पतीको मासु, किराना र खाजा पसल पनि छ।

‘फ्रेस हाउस’का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट गत आवमा रु एक लाख ९४ हजार अनुदान आएको थियो। त्यसमा रु तीन लाख थपेर मापदण्डअनुसारको व्यवस्थित ‘फ्रेस हाउस’ सञ्चालन गरिएको शर्माले बताए। व्यवसायमा शर्मा दम्पतीको लगाव र मेहनत देखेर गाउँले पनि छक्क पर्छन्।

“विदेशको सपनालाई सधैँका लागि त्यागेर गाउँघरमै बसी केही गर्ने सोचका साथ अघि बढेको छु”, शर्माले भन्नुभयो, “परिवार र छिमेकीको पनि राम्रो साथ छ।” शर्माले यसअघि रोजगारीका क्रममा तीन वर्ष अरबमा बिताएर फर्केका हुन्। “अब त मैले पनि विदेश जान दिन्न, यहीँ सुखदुःख गरेर बस्ने हो”, शर्माकी श्रीमती गीताले भन्नुभयो, “ठूलो देश जाने चक्करमा न काम भयो, उल्टै दलालले पैसा खाए।”

वर्षौंदेखि काम गरे पनि कुखुरापालनमा अहिलेसम्म कुनै सरकारी अनुदान नपाएको शर्मा दम्पतीको गुनासो छ। कुखुरापालकका लागि अनुदानभन्दा अनुभव आदानप्रदान र तालीम बढी महत्वपूर्ण हुने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ