राजेन्द्र महतो सरकारमा जान लागे पछि राजपामा भाँडभैलो
राजु रिमाल,
प्रकाशित २०७६ माघ १२ आइतबार
468
Shares
काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारमा जान लागे पछि पार्टीभित्र भाँडभैलो सुरु भएको छ।
राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी र राजपावीचको गठबन्धन विजयी भए पछि महतो लगायतका नेताहरु सरकार जान उत्साहित भएका हुन्।नेकपा–राजपावीचको गठबन्धनलाई निरन्तरता दिन र आफू सरकारमा जान राष्ट्रिय सभाको निर्वाचन पछि पनि उनीहरु नेकपाका अध्यक्षद्धय केपी ओली र प्रचण्डसँग पटक पटक संवाद र सम्पर्कमा रहेका छन्।
तर राजपा भित्रकै केही नेताहरु भने नेकपा–राजपाबीचको गठबन्धनलाई निरन्तरता दिने पक्षमा देखिएका छैनन। राजपाका नेताद्धय महन्थ ठाकुर र महेन्द्र यादव पनि तत्काल सरकारमा जान नहुने पक्षमा उभिएको स्रोतको भनाइ छ। तर राजपाका ६ अध्यक्षमध्ये ४ अध्यक्ष तत्काल सरकारमा जाने लाइनमा उभिएका छन्। यसबाट राजपा सरकारमा जाने सम्भावना बढ्दै गएको राजपाका एक नेताको भनाइ छ।
‘प्रदेश २ को हकमा नेकपासँग हामीले गरेको गठवन्धन चुनावी प्रयोजनकोलागि मात्र हो। त्यही गठबन्धनलाई आधार बनाइ यही स्थितिमा राजपा सरकारमा जान हुँदैन, ’राजपाका वरिष्ठ उपाध्यक्ष विर्खेशचन्द्र लालले भने, ‘तर अहिले पार्टीभित्र छलफल नै नगरी सरकारमा जान खोजेको हामीले महुशस गरेका छौ।’ पाटीभित्रको यस्तो प्रवृत्तिलाई रोक्न आफू लगायतका केही नेताहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको उनले बताए।
केही दिन अघि राजपाका वरिष्ठ उपाध्यक्ष लाल र ५ जना उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्ल, रमेश यादव, गोविन्द चौधरी, सत्यनारायण मण्डल र जितेन्द्र सिंहले पार्टी नेतृत्वलाई चिठी लेखी अहिलको अवस्थामा सरकारमा जान नहुने सुझाव दिएका छन्। यसैगरी महासचिव विजयकुमार सिंहले पनि नेतृत्वलाई चिठी लेखेर उस्तै प्रकृतिको सुझाव दिएका छन्।
अहिलेको स्थितिमा राजपा सरकारमा सामेल हुनु भनेको सयौं सहिदहरुको बलिदानी र आन्दोलनकारीहरुको संघर्षलाई अपमान हुने उनीहरुले जनाएका छन्। चिठीमा भनिएको छ, ‘यस्तो गम्भिर विषयमा राजनीतिक समिति र पार्टीको केन्द्रीय समितिमा छलफल हुनु अत्यन्त आवश्यक छ। यस विषयमा पार्टीमा संस्थागत निर्णयमाफर्त निष्कर्षमा पुग्न माग गर्दछौ।’
पार्टी स्रोत भन्छ, राष्ट्रिय सभाको निर्वाचन सकिए पछि संघीय सरकारमा जान राजपाभित्र आन्तरिक तयारी सुरु भएको छ। यता, प्रदेश २ सरकारमा नेकपा आउन नेकपाका नेताहरू राजपासँग सहकार्य अघि बढाएका छन्। यसकोलागि नेकपाका नेताहरुले समाजवादी पार्टीसँगको सहकार्यलाई एकलौटी ढँगबाट तोडेका छन्।
राजपाका नेताहरुले ‘हाम्रा माग मुद्दा सम्बोधन भएमा हामी सरकारमा जान्छौ’ भन्ने गरेका छन्। राजपाका एक पदाधिकारीले भने, ‘संविधान संशोधन, रेशम चौधरीको रिहाइको पहल तथा मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दा खारेज गर्न प्रधानमन्त्रीले सहमति जनाउनु भएको छ। यसको जस राजपाले लिने छ।’ ती पदाधिकारीको भनाइ छ, हाम्रा मुद्दा पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले गर्नु भए पछि नेकपा र राजपाबीच सहमति हुन्छ। त्यसपछि राजपालाई संघीय सरकारमा जान बाटो खुला हुन्छ।’ राजपा स्रोतका अनुसार संघीय सरकारमा राजपा गयो भने यसको पहिलो असर प्रदेश २ सरकारमा हुने छ।
प्रदेश २ मा नेकपाको संख्या ३३ र राजपाको संख्या २५ छ। नेकपा र राजपा मिलेमा ५८ पुग्छ। जव कि, प्रदेश २ सरकार बनाउन ५४ सांसद भए पुग्छ। राजपा स्रोत भन्छ, प्रदेश २ सरकरको नेतृत्व कसले गर्ने भन्नेमा अहिले नै नेकपा र राजपाबीच सहमति भएको छैन। नेकपाले राजपालाई सरकारको नेतृत्व गर्न दिने सम्भावना पनि छ। उसले नेतृत्वको दावी आफैं पनि गर्न सक्छ। तर जे भए पनि प्रदेश २ सरकारमा राजपाको हैसियत अहिलेको भन्दा बढी हुने छ।’
अहिले प्रदेश २ सरकारमा समाजवादी र राजपाको उपस्थिति करिब करिब बराबारी छ। प्रदेश २ सरकारमा नेकपाका प्रवेश भयो भने मधेसमा नेकपालाई जाने बाटो खुला हुने छ। मधेसमा सुरु देखि नै नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपाको प्रभाव क्षेत्र मानिन्छ। त्यसैले पनि तराइ-मधेसमा कांग्रेस, राजपा र समाजवादी पार्टीका प्रभाव घटाउन नेकपाले राजपालाई यती धेरै महत्व दिएको हो–स्रोतले दावी गर्यो।
राजपा स्रोत भन्छ, उपसभामुखमा नेकपाले राजपालाई दिने करिब करिब निश्चित छ। उपसभामुखको लागि राजपाभित्र अहिले अमृता अग्रहरी र चन्दा चौधरीको नाम चर्चामा छ तर पनि धेरैले चन्दा चौधरीको सम्भावना भएको बताउछन्।