काठमाडौं । नेपाल विद्यार्थी संघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ । उनको क्यान्सरका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष समेत भएकी थिइन् । २०३२ सालमा पाल्पाको रामपुरमा जन्मिएकी अधिकारीपाँच दाजुभाइ र ३ दिदीबहिनीमध्येकी एक हुन् ।
काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा उनी परिवारसहित बस्दै आएकी थिइन् । श्रीमान् र दुई छोरा अनुपम र आयुष हाल अष्ट्रियामा नै बस्दै आएका छन् । अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ ।
अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् ।
पाल्पाको तानसेनमा रहेको मुक्तिनाथ एफएममा पनि विज्ञान संसार कार्यक्रमको उत्पादक तथा प्रस्तोताको भूमिका निर्वाह गरेकी अधिकारीले अष्ट्रियाको सरकारी स्कुलमा नेपाली भाषा विषय सञ्चालनका लागि पहल गरी संस्थापक शिक्षिका समेत थिइन् ।
“उनलाई मैले चिन्दा असाध्यै मेहनती, राजनीतिक परिपक्वता पाएको थिएँ,” त्यसबेलाका स्ववियू सचिव योगराज कँडेलले भने, “राजनीतिक परिवारबाट आएको हुनाले पनि उनमा त्यो स्वभाव थियो ।” उनी एक इमान्दार र क्षमतावान त थिइन् नै त्यतिमात्रै नभएर आफ्नो जिम्मेवारी टुंगोमा पुर्याएरै छाड्ने स्वभाव उनको रहेको कँडेल स्मरण गर्छन् ।