arrow

नेबिसंघका संस्थापक सदस्य प्रेमनाथ अर्यालको निधन, नेबिसंघद्वारा दुख व्यक्त

प्रजातान्त्रिक योद्धाको निधनले अपुरणीय क्षतीः चन्द्र भण्डारी

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
premnath-aryal-nsu-sasthapa.gif

काठमाडौं। नेपाल विद्यार्थी संघका संस्थापक सदस्य प्रेमनाथ अर्यालको शुक्रवार साँझ काठमाडौंमा निधन भएको छ। शुक्रवार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ७५ बर्षको उमेरमा अर्यालको निधन भएको गुल्मी कांग्रेसका नेता विष्णु पन्थीले जानकारी दिए।

गान्धीवादी छवीका अर्याल गुल्मीबाट निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय थिए। विपी कोइराला र कृष्णप्रसाद भट्टराईसँग अत्यन्तै निकटमा रहि काम गरेका अर्यालले पञ्चायतकालमा भट्टराईसँगै ३ बर्ष जेल पनि बिताएका थिए।

किसुनजीसँग अन्तिम समयसम्म निकटमा रहि काम गरेका अर्याल पार्टीको काममा सानै उमेरदेखि लागिपरेका थिए। 

०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरि पञ्चायती व्यवस्था शुरु गर्दा कांग्रेस नेतृ शैलजा आचार्यसहित कालोझण्डा देखाउने कार्यमा अर्यालले सहभागि थिए। 

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, रामचन्द्र पौडेल, विपिन कोइराला, शिब बहादुर खड्का, चिरञ्जिवी वाग्ले लगायतका नेताहरुका अर्याल निकट मित्र थिए।

तीनधारा पाठशालमा प्रारम्भिक अध्ययन गरेका उनले इतिहासमा एमए र सर्वदर्शनमा आचार्य गरेका थिए। 

गुल्मी जिल्ला घर भइ काग्रेसको राजनीतिमा जीवन पर्यन्त सक्रिय रहेका अर्यालको ६ भाई छोरा २ छोरी र श्रीमती रहेका छन्।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अर्यालको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षती पुगेको जनाउँदै गहिरो दुख व्यक्त गरेका छन्। भण्डारीले प्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा स्मरण गर्दै अर्यालप्रति श्रद्धाञ्जली दिएका छन्। 

आफ्ना संस्थापक सदस्यको निधनमा नेपाल बिद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानाले दुखः व्यक्त गरेका छन्। ढुङगानाले स्वर्गीय अर्यालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककै घडीमा समेत नेबिसंघका स्थापनाकालिन नेताहरुको सोच अनुसारको संगठन बनाएर लोकतन्त्र बलियो बनाउने कार्यमा आफ्नो नयाँ टीम काम गर्ने प्रतिबद्धता जनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ