देशभक्ति र सदाचारमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता
प्रकाशित २०७६ माघ १९ आइतबार
584
Shares
काठमाडौं । संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि उक्त समितिले आइतबार बिहान उनको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गरे ।
उनले भने, “विधि, पद्धति र प्रक्रियाको पूर्णपालना गर्नेछु, राष्ट्र र जनताको सर्वोपरी हितका खातिर काम गर्ने मेरो भगिरथ प्रयत्न रहनेछ ।” सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
समितिका सदस्यहरुले योग्यता र क्षमताका आधारमा मात्र नभई विपक्षी दलको समेत सहयोगमा सभामुखमा निर्विरोध निर्वाचित भएका समितिका सदस्यलाई संसद्को सर्वोच्च पदमा आसिन भएको देख्न पाउँदा आफूहरुलाई गौरवको अनुभूति भएको बताउँदै राष्ट्रघात हुने कुनै पनि काम सभामुखबाट नहुने विश्वास व्यक्त गरे ।
उनीहरुले नेपालको गणतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधानसभामार्फत संविधान निर्माणलगायत देश र जनताका निम्ति सापकोटाले निर्वाह गरेको भूमिकाको सराहना गर्दै सुशासन प्रवद्र्धन, राष्ट्रिय सुरक्षा र नेपालको भौगोलिक अखण्डता अक्षुण्ण राख्न गम्भीर भएर काम गर्ने विश्वास पनि व्यक्त गरे ।