काठमाडौं । नेपाल कता त ? नेपाली कस्तो हालतमा छन् । माहोल कता बग्दैछ ? नेपालमा विकास हुँदैछ कि विनाश ?
यावत् प्रश्न कुँदिरहेका छन् । स्पष्ट बहुमतको सरकार छ । विपक्षीले जस्तासुकै नराम्रा काममा पनि प्रतिरोध गरेको छैन ।
केपी शर्मा ओलीको सरकारले जे चाह्यो त्यही गरिरहेछ । साँच्चै यो सरकारलाई जनताको माया छैन । पुर्खाप्रति कुनै सद्भाव छैन ।
उसले आज देखेको छ । आज जे सकिन्छ गर् भनिरहेछ । पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ गीत त्यसै आएको हैन ।
अमेरिकी सहयोग नियोग एमसीसीको औचित्यबारे सरकार जनतालाई बुझाउन जाँन्दैन । अनि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भन्छन् – एमसीसीको फुलफर्म थाहा नहुनेले विरोध गरिरहेका छन् ।
योभन्दा निम्छरो प्रयोग कहाँ हुन्छ ? त्यसो भए नेकपाका अधिकांश केन्द्रीय सदस्य अनपढ र गँवार ?
तब प्रश्न गर्न मन लाग्छ । प्रधानमन्त्री ओलीले कति पढे ? मन्त्री ज्ञवालीले कति पढे ?
पढेर हुने भए अहिलेकै अर्थमन्त्री पीएचडीधारी हुन् । डाक्टर युवराज खतिवडा । खोइ के छ नेपालको आर्थिक अवस्था ?
प्रश्नैप्रश्नबीच ओली सरकार चलिरहेछ । आफू बाँचिरहेछन् ।
उनी राम्रै बाँचुन् । कम्तीमा सय वर्ष बाँचुन् । उनी भर्खरै ११ फागुनमा ६९ वर्ष पुग्दै छन् ।
उनी मिर्गौला प्रत्यारोपण गरेका एक रोगी पनि । र पनि उनी स्वास्थ्य अनुकूल हुनासाथ दैनिक कार्यमा क्रियाशील भइहाल्छन् ।
डायलासिस गर्दाबाहेकका दिनमा सक्रियता बढाइहाल्छन् । आगन्तुकसँग भेटघाट गर्छन् । सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् ।
उनी मंगलबार तीनवटा कार्यक्रममा व्यस्त भए। मंगलबार दिउँसो अखिल नेपाल महिला संघको शपथग्रहण कार्यक्रमका लागि राष्ट्रिय सभागृह पुगे । साँझ सम्पादकसँग भेटघाट गरे । साँझ आफैले रात्रिभोजसहित सांगीतिक कार्यक्रमको आयोजना पनि गरे ।
ओलीले डायलासिस कति पटक गरे ? यसको यकिन गणना कसैले गरेको छैन । उनले मंगलबार साँझ सम्पादकहरूसँगको भेटमा चाँडै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए ।
‘किन प्रत्यारोपण गर्ने भनेर सोध्नुहोला, अझै बलियो भएर तीन वर्ष सरकार चलाउन र काम गर्नका लागि हो’, उनले भने ।
ग्रान्डी अस्पतालमा गत कात्तिक १३ गते पहिलो पटक डायलासिस गरिएको थियो । उनले केही समययता मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गराउँदै आएका छन् । उनी १० मंसिरमा गम्भीर बिरामी परेका थिए ।
उनी फेरि पनि बाँच्नुपर्छ । सय वर्ष बाँचुन् । तर के मृगौला पीडित सर्वसाधारणले बाँच्न नपाउने ?
ओली सिंगापुर गएर उपचार गर्न हुने तर नेपाली सर्वसाधारणले नेपालमै रहेर डायलाइसिस गर्न नपाउने ? ओलीले आफूजस्तै पीडितका बारेमा सोच्न नहुने ?
नेपालीलाई सबैभन्दा खड्केको गुणस्तर शिक्षा र स्वास्थ्यकै हो ।
शिक्षामा पनि मनपरी छ । स्वास्थ्यमा पनि मनपरी छ । यो मनपरीलाई तह लाउने देशका कार्यकारी प्रधानमन्त्री केपी ओली हुन् । उनी आफै मनपरी गर्छन् ।
जनता पीडामा छन् । उनी भने मस्तसंग बसिरहेछन् । त्यसको झलक मंगलबार साँझले पनि गरेको छ ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै रौनक थियो । मानौं देश झुमिरहेछ । किनकि हाम्रो प्रधानमन्त्री झुमिरहेछ ।
बालुवाटार मंगलबार साँझ संगीतमय बन्न पुग्यो । ओलीले आयोजना गरेको रात्रीभोजमा खानपान मात्र चलने ‘सारङ्गी साँझ’ ले माहोल संगीतमय बन्यो ।
आफ्नो सरकारमा रहेका मन्त्री र नेकपाका सचिवालय सदस्यहरुका लागि ओलीले रात्रिभोजसहित ‘सारङ्गी साँझ’ आयोजना गरेका हुन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा ओलीले बाँसुरी अनि सारङ्गी बजाए ।
अरु बेला तँ तँ र म म गर्ने नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले पनि ओलीलाई साथ दिए ।
वाह ! क्या लायक दृष्य । लायक तस्वीर । लायक समय । त्यो साँझ अब सुरु भयो । त्यो दृष्य अब सुरु भयो । इतिहासले नभुल्ने साँझ बन्यो ।
किनकि पृष्ठभूमिमै भनिएको छ कि नेपाल अहिले कुन परिस्थितिमा छ । कुन परिवन्धमा छ । बस् मस्त छन् न ओली र उनको पार्टीका नेताहरु ।
केन्द्रीय सदस्यहरुले समेत चिन्ता जनाइरहँदा मस्त छन् त शीर्ष नेताहरु र ओली कम्पनीको सरकार ।
ओलीलाई बाँसुरी बजाएको साँच्चिकै सुहाएको छ । कुनै समय राष्ट्रवादीको नारा घन्काएर भोट तान्न सफल ओलीके असली चरित्र यही नै हो ।
‘रोम जलिरहेछ नुरो बाँसुरी बजाइरहेछ ।’ देश विविध कारणले छट्पटाइरहेको छ ओली मस्तसंग बाँसरी बजाउनमै केन्द्रीत छन् ।
तस्वीरमा ओलीले बाँसुरी बजाइरहेका छन् भने माधव नेपाल र झलनाथ खनालले ओलीलाई साथ दिएका छन् ।
यो तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । ट्रोल बनिरहेको छ ।
यसले ओलीलाई कत्ति पनि खुशी दिने छैन । किनकि उनी मजाकका पात्र बनेका छन् । उनी आफ्नै व्यवहारले जनताका अभिभावक बन्न खोजिरहेका छैनन् ।
भ्रष्टाचारमा शून्य सहनशीलता, वाइडबडी प्रकरण, यती होल्डिङ्स प्रकरण जस्ता भ्रष्टाचारका पराकाष्ठाले उनको हैसियत देखाइदिएको छ ।
निर्मला हत्या प्रकरणको अहिलेसम्म आउन नसकेको नतिजाले उनको सामाजिक हैसियत स्पष्ट पारिसकेको छ ।
गुठी प्रकरणले नेपाली संस्कृतिमाथिको हैसियत पनि जनताले देखिसकेका छन् ।
अनि मिडिया काउन्सिल विधेयकले सूचनाको हकको अवस्था पनि छर्लङ्ग पारिसकेका छन् ।
ढिलोचाँडो जनताले जान्नु थियो जाने ।
नजानुन् भनेरै सामाजिक संजालमा कडाइ गर्न खोजेका थिए । कडाइ गर्नुअघि नै ओली भाइरल भइदिए ।