दुई तिहाई बहुमत ल्याएका केजरीवालको तेस्रो कार्यकालको सपथ मैदानमा
केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने
प्रकाशित २०७६ माघ २९ बुधबार
503
Shares
नयाँ दिल्ली ।आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्।
सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।
यसअ सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन ।
आपले निर्वाचनमा दोहोराएर विशाल विजय निकालेपछि देशका विभिन्न राजनीतिक नेताहरूले नेता अरविन्द केजरीवाललाई वधाई सन्देशहरू दिएका छन् ।
केजरीवाललाई वधाई दिँदै पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन् , “अरविन्द केजरीवाललाई धेरै धेरै वधाई ! अहिले भारतीय जनता रोटी,कपडा र वास (घर) चाहान्छन् । प्रवृत्ति एकदमै स्पष्ट छ कि राजनीतिमा छलकपटले काम गर्दैन ।”
त्यस्तै केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि केजरीवाललाई उनको पार्टीको शानदार विजयका लागि वधाई दिएका छन् । “अरविन्द केजरीवाल र आमदमी पार्टीलाई दिल्ली चुनावमा ठूलो जीतको लागि वधाई छ । यो जीत हाम्रो देशको जन–समर्थक र समावेशी राजनीतिको लागि आश्रयस्थल होस् ।”
द्रविदा मुन्नेत्र काझागम (डीएमके)का नेता एमके स्टालिनले ट्वीटर सन्देशमा मार्फत भनेका छन् , “अरविन्द केजरीवाल र आम आदमी पार्टीलाई पुनः दिल्लीमा सरकार गठन गर्न पाएको वृहत जनादेशको लागि बधाई छ । विकासले साम्प्रदायिक राजनीतिलाई बिगार्न सक्छ भन्ने कुरा स्पष्ट छ । संघीय अधिकार र क्षेत्रीय चाहनालाई हाम्रो देशको हितमा सुदृढ बनाउनुपर्दछ ।”
समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले दिल्ली निर्वाचन परिणामबारे पत्रकारहरूसँग कुराकानी गर्दै भने “दिल्ली चुनावको नतीजाले देशभर सन्देश पठाउनेछ कि किसान, गरिब र युवाले विकास र समृद्धिलाई मतदान गर्छन् । जनताले दिल्लीमा साम्प्रदायिक राजनीतिको बिरूद्ध मतदान गरे ।”एएनआई