ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा मृत अवस्थामा भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र घरमा काम गर्न बसेका विजय चौधरीको शव परिवारले अस्पतलबाट लिएका छन् । कार्कीको घरमा यही माघ २७ गते बिहान उनकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए ।
ललितपुरको पाटन अस्पतालमा मुना कार्कीको शव श्रीमान् अर्जुन कार्कीले बुझेका छन् भने विजय चौधरीको शव बाबु जानकी चौधरीले बुझेका छन् । चौधरीका परिवारले आजै विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीमा जाहेरी दिएपछि शव बुझेका हुन् ।
मृत अवस्थामा भेटिएकी मुना कार्कीको हत्या भएको ‘पोस्टमार्टम रिपोर्ट’मा देखिएको छ । यसअघि प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिएको थियो । पाटन अस्पतालमा गरिएको मुना कार्कीको 'पोस्टमार्टमको रिपोर्ट'मा मृत्युको कारण हत्या नै भएको देखिएको हो।
कार्कीको घरको सिसिटिभी हेरेपछि प्रहरीले मुनाको हत्यामा बिजयले नै गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो । सिसिटिभी फुटेजमा मुनालाई विजयले लछारपछार गरि कुटपिट गरेको देखिएको छ। साथै भुइँमा समेत टाउको ठोक्काएको देखिएको प्रहरी स्रोतले बताएको छ। मुनाको टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको चिकित्सकले बताएका छन् ।
महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ ।
यद्यपि फोरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताए । उनीहरुको मोबाइललगायत सामग्री अनुसन्धानका लागि पठाइएको समेत उनले बताए । चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए ।