काठमाडौं । विश्वभर शुक्रबार भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेबु्रअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।
रोमका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने प्रेम दिवसको दिन हो यो । हुन त केहि नेपालीहरु हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमि भएको तर्कमा जोड दिन्छन । त्यसैले अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउन नहुने तर्क राख्छन । तर पनि भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । भ्यालेन्टाइन्स डे के हो र कसरि सुरु भयो त यसको प्रचलन ?
सेन्ट भ्यालेन्टाइन डे सामान्यतया: भ्यालेन्टाइन डेको रुपमा प्रख्यात दिन हो फेब्रुअरी १४ । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४लाई विश्वभरीका थुप्रै देशहरुमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रुपमा मनाइन्छ । पश्चिमा मुलुकहरुमा त नयाँ बर्षपछी धेरैले मनाउने बिदा नै भ्यालेन्टाइन्स डे भएको पनि बिश्वास गरिन्छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरु लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।
यो दिन कहाबाट सुरुवात भयो, किन र कसरी मनाउने गरियो भन्ने कुरा कतिपयलाई अवगत नहुन पनि सक्छ । यो दिन कसरी सुरुवात भयो भन्नेमा बारेमा विभिन्न तथ्यहरु फेला परेको छन् जसको कथा निकै अनौठा तथा रोमाञ्चक पनि छन् । भ्यालेन्टाइन्स डेको पछाडी एउटा दु:खद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ ।
यो दिन सुरु हुनुको पछाडी भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् र उनको के योगदानले गर्दा यो दिनलाइ बिशेष रुपमा मनाउन थालियो भन्ने कुरामा भने थुप्रै बिचारहरु भेटिएका छन् । जसमध्ये एक क्रिस्चियन सहिदहरुलाई भ्यालेन्टाइनको पदवी दिने गरिएको र तिनै सहिद भ्यालेन्टाइनहरुको सम्झनामा भ्यालेन्टाइन्स डे मनाउन थालिएको भन्ने क्रिस्चियन दावीलाई क्रिस्चियनहरुले जोड दिन्छन ।
तर सर्वमान्य रुपमा भने रोमका पुजारी सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिनलाई भ्यालेन्टाइन्स डेको रुपमा मनाउने गरिएको कुरालाई नै बढी जोड दिएको पाइन्छ । इशापूर्व २६९ मा रोमका पुजारी सन्त भ्यालेन्टाइनलाई प्रेम गरेको र प्रेम गर्नेहरुको बिबाह गराएको आरोपमा राजा क्लाउडियसको आदेशमा फेब्रुअरी १४ कै दिनमा मृत्युदण्डको सजाय भयो । त्यसैले प्रेम गर्नेहरुको चाडको रुपमा यो दिनलाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डे मनाइन्छ ।
जतिबेला राजा क्लाउडियसले रोममा शासन गर्दथे त्यतीबेला त्यहाँका युवाहरुलाई प्रेम गर्न र बिबाह गर्न बन्देज लगाइएको थियो क्लाउडियसको सोच संसारलाई राज गर्ने थियो । जसका लागि उनले रोमका युवाहरुलाई सैनिकमा भर्ति गराएर युद्ध गर्दथे । तर यस्तो समय पनि आयो युवाहरु आफ्ना श्रीमतीको इच्छा र सन्तानको मायाले गर्दा युद्धमा जानका लागि सैनिकमा भर्ति हुन मान्न छाडे । शासकहरु क्रुर हुन्छन र उनीहरु आफ्नो फाइदाको लागि जस्तोसुकै कार्य गर्न पनि पछी पर्दैनन् । त्यसैले यिनले पनि यस्तै गरे प्रेम र बिबाहमा नै प्रतिबन्ध लगाइदिए राजा क्लाउडियसले सबै चर्चहरुमा विवाह नगराउन उर्दी जारि गराए । तर सन्त भ्यालेन्टाइनलाई यो कुरा मन परेन ।
न त युवाहरुलाई नै यो कुरा मन परेको थियो । तर यसको बिरोध गर्ने कसले ? यस्तैमा प्रेमका समर्थक, व्यक्तिगत स्वतन्त्रताका पक्षधर भ्यालेन्टाइन जीवनका प्रत्येक पक्षहरुलाई आनन्द र विवेकपुर्वक भोग्ने कुरामा बिश्वास राख्दथे । भ्यालेन्टाइनको समर्थकहरु पनि मानवता प्रेमी, कर्मठ युवा युवतीहरुको संख्या पनि व्यापक थियो । किनकि उनको शिक्षा प्रेम र भाइचारासंग सम्बन्धित थियो । उनि प्रेमलाई पुजाको रुपमा हेर्दथे ।
यस्तोमा राजा क्लाउडियसले भने १८ वर्ष पुगेका सबैलाई सैनिकमा भर्ति हुन र विवाह र प्रेम गर्न नै प्रतिबन्ध लागेपछि कयौं युवाहरु घरभित्र नै लुकेर बस्न बाध्य भए । यस्तोमा प्रेमका पुजारी भ्यालेन्टाइनले भने यसको बिरुद्धमा जाने निर्णय गरे । उनले राजाको बिरोध गर्ने विचार गरे उनको नजरमा प्रेम र विवाह भनेको पवित्र बन्धन थियो । जसलाई निषेध गर्नु उनको दृष्टिकोणमा गलत थियो । यसैले भ्यालेन्टाइनले गुप्त रुपमा प्रेमी जोडीहरुको विवाह गराईदिन थाले । उनले राजाको कदमको बिरोध स्वरूप यस्तो विवाहलाई एउटा अभियानको रुपमा चलाएका थिए । यस्तो विवाह राति राति मात्रै हुन्थ्यो र उनकहाँ विवाह गर्न न बाबु आमा चाहिन्थ्यो न त साथीभाई र इष्टमित्रहरु नै । केवल भगवानलाई साक्षी राखेर विवाह गरिन्थ्यो । तर यो शिलशिला धेरै दिन रहन पाएन । राम्रो काम गर्नेको मित्रसंगै शत्रु पनि बढ्छन । उनमा पनि यहि कुरा लागु भयो । उनको त्यो कामको रिपोर्ट राजाकोमा पुग्यो । राजा क्लाउडियसले उनलाई तुरुन्तै बन्दि बनाए । तर भ्यालेन्टाइन अलिकति पनि डगमगाएनन किनकि उनको नजरमा उनले गल्ति वा पाप गरेकै थिएनन । उनले त केवल दुइ आत्माको मिलनमा सहयोग गरेका थिए ।
क्लाउडियसले भ्यालेन्टाइनलाई जेल पठाएर उनलाई मृत्युदण्डको सजाय सुनाए । तर पनि उनि खुशी खुशी बाँचेका थिए जेलमा उनलाई धेरै मानिसहरु भेट्न आउंथे जसमध्ये जेलरकी छोरी पनि एक थिइन् । भेट गर्ने क्रममै भ्यालेन्टाइन र जेलरकी छोरीको बिचमा पनि बिस्तारै आत्मियता बढ्यो र उनीहरु बिचमा प्रेम भयो । तर दुर्भाग्य भ्यालेन्टाइनलाई फेब्रुअरी १४को दिन फाँसी हुने सजायँ सुनाइयो । आफ्नो जीवनको अन्तिम दिन अर्थात् मृत्यु भन्दा अगाडी भ्यालेन्टाइनले जेलरकी छोरीलाई अन्तिम संदेश पठाएर आफु संसारबाट बिदा हुँदै गरेको जानकारी गराएका थिए । उनले चिट्ठीको अन्तमा लेखेका थिए तिम्रो भ्यालेन्टाइन । त्यसैले फेब्रुअरी १४लाई भ्यालेन्टाइनको सम्झनामा भ्यालेन्टाइन्स डेको रुपमा मनाउन थालिएको हो ।
प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्ने गर्छन् । भ्यालेन्टाइन डे को अवसरमा आज काठमाडौं लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् ।
यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ । यो पर्व वा दिवसमा गुलाफको फूल अफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरि युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ। प्रत्यक वर्ष यो पर्व वा दिन नेपालमा मात्र पाँच लाख गुलाफको फूल बिक्री हुने गर्छ।
विकृति
भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन ।
प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ सच्चा प्रेममा । विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेक छ । एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार चल्दैन ।
सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रुपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ झूटो प्रेम ‘फेक लभ’ गर्नेहरूको कमी छैन । यसो हुनु राम्रो होइन । अतः फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।