काठमाडौं । यती होल्डिङ्गस परिवारसँग तत्कालीन एमाले र नेतृत्व पंक्तिको सम्बन्ध असाध्यै घनिष्ट हो । र, अहिले नेकपाका अध्यक्ष र प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको सम्बन्ध पनि, पुरानै । यो सम्बन्ध संकट वा खुशीमा एकनासले अघि बढिरहेको छ ।
भुइँचालोले तत्कालीन नेकपा एमालेको बल्खुस्थित कार्यालय भत्किएपछि ओलीको यती परिवारको व्यापारिक समूहसँगको सम्बन्धका कारण धुमबाराहीस्थित उसैको संरचनामा एमालेले शरण लियो । अहिले पनि ‘डबल’नेकपाको मुख्यालय त्यहीँ छ । र, यो चाँहि संकटमा साथ दिएको कुरा भयो ।
तर, खुसीयालीमा पनि साथ उस्तै रहेछ भन्ने कुरा ओलीको ६९औँ जन्मदिनमा पनि प्रष्टै पोखियो । अहिले सर्वत्र चर्चामा रहेको नेपालको नक्साअंकित ‘केक’ प्रधानमन्त्रीको जन्मथलो तेह्रथुमको आठराई पठाउने पनि त्यही परिवार थियो, यती होल्डिङ्गस ।
यतिकै एयर डाइनेस्टीको हेलिकप्टरमा पठाइएको २२ किलोको केक बालुवाटारस्थित युरोपियन बेकरीमा तयार पारियो । केक अर्डर गर्ने पनि त्यही परिवार थियो,
नेपालको नक्साको केक काट्दा ओली निकै खुशी भए र तालीको गड्गडाहट छुट्यो ।
प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गरियो । तर, नेपालको नक्सा चाँहि टुक्रा पारेर ‘वर्थडे विस’गर्न पुगेकाहरुको हातहातमा पुग्यो ।
ओलीलाई सरप्राइज किन ?
अहिले नेपाल ट्रस्टको सम्पति जति यती होल्डिङ्गसलाई धमाधम दिएको भन्दै सरकारले आलोचना खेपिरहेको छ । प्रधानमन्त्री ओलीले ट्रस्टको जग्गा मात्रै होइन अहिले सारा काम यतिलाई नै अघि सारेर मनाईरहेका छन् ।
नेपाल भ्रमण वर्षको मस्कट यति बनाउन पनि प्रधानमन्त्रीकै भूमिका निर्णायक रहयो । भ्रमण वर्षको तयारी अन्तर्गत एउटा कमिटीमा यति परिवारका कर्ताधर्ता आङ छिरिङसमेत थिए ।
तर, उनको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै निधन भयो, पाथीभराको दर्शन गरेर फर्किँदै गर्दा ।
त्यो बेला हेलिकप्टर दुर्घटना नभएको भए आङ छिरिङ त्यसैदिन काठमाडौँ फर्किएर पेरिस जानेवाला थिए, सम्भवत अहिले विवादको उत्कर्षमा रहेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको टुंगो समेत लगाउने थिए होलान् ।
पछि भरखरै मन्त्री पदबाट हात धोएका गोकुल बाँस्कोटा एक्लै गए । त्यति मात्रै होइन, ओलीले नेपाल वायुसेवा निगमलाई निजीकरण गरेर यतिलाई नै जिम्मा लगाउने बाचा गरिसकेका थिए ।
पछि अन्यले थाहा पाएपछि खेल विग्रियो, त्यही बेला हेलिकोप्टर दुर्घटनामा तत्कालीन मन्त्रीसहित सात जनाको निधन भयो । अहिले यति परिवार आफ्ना मालिकको आत्मा शान्तिको कामना र ओली सदासयताको गुन तिरिरहेको छ, सरप्राइज उपहार छ ।