पार्टी कार्यालय प्रवेश गरी विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज र गिरफ्तार गरेकोमा कांग्रेसको भर्त्सना
रिहाइ माग्दा नेविसंघका थप विद्यार्थी पक्राउ
प्रकाशित २०७६ फागुन १२ सोमबार
757
Shares
काठमाडौं । पार्टी कार्यालय प्रवेश गरी विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज र गिरफ्तार गरेकोमा नेपाली कांग्रेसले भर्त्सना गरेको छ । सोमबार प्रहरीले नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय भित्रै प्रवेश गरी विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरी सख्त घाइते बनाएको थियो।
प्रहरीको षडयन्त्र गरेको विरोधमा नेपाल विद्यार्थी संघले रोशन हमालको रिहाइको माग गर्दै निकालेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनद्वारा जथाभावी बल प्रयोग गरेको हो । प्रहरीले विष्णु पहारी र सुमन विमलीलाई गिरफ्तार समेत गरेको छ । साथै एक छुट्टै शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रममा आजै निर्दोष विक्रम पौडेल र असिम सुवेदी लगायतलाई पनि गिरफ्तार गरेको घटनाप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ ।
पृथ्वीनारायण क्याम्पस पोखरामा दुई विद्यार्थी समूहहरु बीचको सामान्य विवादलाई मिलाउनका लागि क्याम्पस प्रशासनले दुवै विद्यार्थी समूहका प्रतिनिधिहरुलाई क्याम्पस परिसरमा बोलाएको र क्याम्पस परिसरबाटै नेपाल विद्यार्थी संघका रोशन हमाललाई सुनियोजित रुपमा विना कारण प्रहरीद्वारा गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने नियतका साथ षडयन्त्र गरेको विरोधमा नेपाल विद्यार्थी संघले रोशन हमालको रिहाइको माग गर्दै निकालेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनद्वारा नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुमाथि जथाभावी बल प्रयोग गरेको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा भनिएको छ ,' शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको छ । यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाई गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।'