काठमाडौं । प्रसिद्ध समाजसेवी बद्रीप्रसाद पहाडीले आफूले अध्ययन गरेको र केही समय अवैतनिक अध्यापन गरेको संखुवासभा स्थित मादी माध्यामिक बिद्यालयलाई लाखौँ मुल्यको जग्गा प्रदान गरेका छन्। मादी बिद्यालयले फागुन १६ गते बिद्यालय प्राँगणमा समाजसेवी पहाडीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा उक्त घोषणागर्दै बिद्यालयका जेहेन्दार छात्र छात्रालाई प्रोत्साहन प्रदान गर्न रु. १ लाख नगद समेत हस्तान्तरण गरेका छन् ।
सोही रकमबाट प्राप्त हुने ब्याजबाट कक्षा १० मा उच्च स्थान हासिल गर्ने एक छात्र र एक छात्रा गरि दुईजनालाई नगद पुरस्कार प्रदान गरिने छ । स्मरणीय छ ८४ बर्षिय समाजसेवी पहाडीले मादी स्थित आफ्नो पैतृक जग्गाको एक हिस्सा मादी नगरपालिका र एकहिस्सा मादी क्याम्पसलाई यसअघि नै प्रदान गरिसकेका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नागरिक अगुवा डा. देबेन्द्रराज पाण्डेले कुनै काल खण्डमा शिक्षाका लागि विख्यात मादी आउँदा आफुलाई गर्व लागेको बताए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनाथ दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक आन्दोलनका अगुवा एवं कवि अर्जुन पराजुलीले गाउँ किन आउने शिर्षकको कबिता र कवि सुदेश सत्यालले फर्केर आउ घर शिर्षकमा कविता वाचन गरेका थिए ।
कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, बरिष्ट उपसभापति गोबिन्द खनाल, महासचिव सुशिल बस्नेत, मादी नगरपालिकाका मेयर बिदुर लिङथेप, बिद्यालयका प्रधानअध्यापक शान्तिकुमार दाहाल, गायत्री प्रसाद दाहाल, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा शान्ति समाजले तयार पारेको हिमालय बचाउ नदी जोगाउ, शान्ति हाम्रो अधिकार र लागू औषध मदिरा दुब्र्यशन अन्त्यका लागि तयार पारिएको तीन अलग अवधारणापत्र बितरण गरिएको थियो । सोही दिन मादी नगरपालिका र मादी बहुमुखी क्याम्पसद्वारा समाजसेवी पहाडीको स्वागतमा आयोजित कार्यक्रममा समेत शान्ति समाजका अभियन्ताहरु सहभागि थिए ।