डब्ल्यूएचओको चेतावनीपछि सरकार कोरोना भाइरस संक्रमणबाट बच्ने उपायमा
प्रकाशित २०७६ फागुन १८ आइतबार
701
Shares
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक भनेपछि सरकारको बल्ल ज्ञानको ढोका खुलेको छ ।
भ्रमण वर्ष २०२० को नाममा नेपाल कोरोनामुक्त छ भन्दै स्वास्थ्यको ख्याल नगरी पर्यटक भित्र्याएको नेपालले डब्लूएचओको चेतावनीपछि भने संक्रमबाट बच्ने उपाय अपनाउन थालेको हो ।
केही दिनअघि देखि नै स्वास्थ्य संगठनले नेपाललाई चेतावनी दिएको थियो । तर अटेर गर्दै आएको केपी शर्मा ओलीको सरकारले अब भने बच्नुको विकल्प नभएको भन्दै ओलोचना रोक्ने प्रयास थालेको छ ।
शनिबार ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ ।
छिमेकी मुलुक चीनको वुहानबाट फैलिएको कोरोनाले विश्वबजार ढाक्न खोज्दा नेपालले केही नै जानकारी नभएजसरी प्रचार गरिरहेको थियो ।
तर नेपालमा थुप्रै कोरोना पीडित रहेको आशंका गरिएपछि ओली सरकारले वाध्य भएर उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ ।
उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् ।
के गर्दैछ सरकारले ?
प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।
त्यस्तै बैठकमा संक्रमण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ । अहिले विश्वका मुख्य मुख्य देशहरुले चीनसंगको हवाई उडान रोकेका छन् ।
त्यस्तै मुख्य प्रभावित देशहरुमा पनि उडान रोकिने भएको छ ।
यस्तै भ्रमण वर्ष पनि प्रभावित भएको छ ।
नेपालम हालसम्म एक जनामात्र संक्रमित भेटिएका छन् । उनी स्वस्थ्य भइसकेका छन् । चीनबाट ल्याइएका १८५ जनाको पनि संक्रमण नदेखिएको जनाइएको छ ।