सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकस्थित बजारबाट एयरपोर्ट जाँदै गरेको भे१त ८१७६ नं.को खाली ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे३प ७४२ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
आज बेलुका ७:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले राससलाई जानकारी दिए। उक्त दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत खजुराका ३३ वर्षीय यमबहादुर विक र ३२ वर्षीय खगेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको उनले बताए।
उनका अनुसार मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए। गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका २५ वर्षीय तुलबहादुर राम्जालीको अवस्था गम्भीर रहेको र उहाँलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक रावलले बताए। ट्र्याक्टर चालक भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।