तीन धर्मका गुरुलाई पढाएर व्यापारिक भवनको शिलान्यास
प्रकाशित २०७६ फागुन १९ सोमबार
547
Shares
सर्लाही । हिन्दु, मुस्लिम र वौद्ध धर्मका धर्मगुरुबाट एकैसाथ पाठ गराएर सर्लाहीको हरिवनमा तेह्र करोड रुपैयाँ लागतमा व्यापारिक भवन निर्माण गर्न सुरु गरिएको छ । नगरपालिकाको १३ करोड ८६ लाख ७७ हजार ३४८ रुपियाँ ७० पैसा लागतमा व्यापारिक भवन बनाउन सुरु गरिएको हो ।
दुई तले भवनमा जम्मा १३६ वटा सर्टर रहने छन् । २०७७ साल माघ १९ गतेसम्म भवन निर्माणको काम सक्ने गरी ठेक्का लगाइएको नगरपालिका कार्यालयले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनको कृष्ण चोकदेखि दक्षिण घुर्कौली जाने सडक छेउमा बनाउन लागिएको व्यापारिक भवनको आज बिहान नगरप्रमुख गणेशप्रसाद प्रसाईले शिलान्यास गरे।
व्यापारिक भवनको शिलान्यास गर्दै नगरप्रमुख प्रसाईले अहिले नगरपालिकाको जग्गामा व्यवसायीले आफैले स–साना घरटहरा बनाएर कष्टपूर्ण किसिमले व्यापार व्यवसाय गरिरहेको अवस्थामा व्यवस्थित किसिमको नयाँ भवन बनेपछि सहज हुने विश्वास व्यक्त गरे ।
हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुब रेजाको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रेणुका पौडेल, अन्य जनप्रतिनिधि, राजनीतिज्ञ, व्यापारी, वुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।