धनगढी। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरको विकासका लागि एक भएर लाग्न सुदूरपश्चिमका सबै राजनैतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।
काँग्रेस सभापति देउवाले भने 'राजनीतिमा सबै दलको आ–आफ्ना विचार भए पनि सुदूरपश्चिमको समग्र विकासका लागि एक जुट भएर लाग्न आबश्यक छ ।'
सात दिनदेखि कैलालीको धनगढीमा जारी विश्व नेपाली साहित्य महोत्सवको समापन समारोहमा बोल्दै प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति देउवाले नेकपा र कांग्रेसका नेता तथा कार्यकर्तालाई राजनीतिमा आ–आफ्ना कुरा लिएर गए पनि सुदूर पश्चिमको विकासमा एक भएर लाग्न आग्रह गर्दै भने,‘हाम्रा बिचार फरक होलान्,तर सुदूरपश्चिमको विकासका लागि हामी सबै पार्टीका नेताहरुले एक भएर बोल्नुपर्छ ।’
देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि विदेशीको मुख ताक्नुभन्दा सुदूरपश्चिमकै जनतालाई शेयरहोल्डर बनाएर यतैका नागरिकले आफ्नै पैसाले बनाउन आँट गर्नुपर्ने बताए । ‘पश्चिम सेती बनाउने भन्दा भन्दै वर्षौ वित्यो, तर निर्माण हुन सकेन,’ उनले भने,‘अब हामीले सुदुरकै जनतालाई शेयरहोल्डर बनाएर सरकारले पश्चिम सेती बनाउने आँट गर्नुपर्छ ।’
देउवाले सुदूरपश्चिमका जनताले आँट गरेमा पश्चिम सेती दस वर्षमै बनाउन सकिने बताए । ‘हामीले कुनै अवरोध नगरी पश्चिम सेती बनाउन चाहेमा दस वर्षमै बन्छ,’ उनले भने,‘त्यसका लागि हामी सबै एकजुट हुन आबश्यक छ ।’
धनगढीमा जारी विश्व नेपाली साहित्यिक महोत्सव सफल भएकोमा बधाई दिँदै उनले भने,‘आज सुदूरपश्चिमले विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुलाई नेपाली भाषाको उद्गमस्थल रहेका काली–कर्णालको सभ्यता सिकाएको छ ।’ नेपाल बहुभाषिक बहुसांस्कृतिक राष्ट्र भएको बताउँदै उनले भने,‘त्यसमा पनि सुदूरपश्चिमको भेषभूषा, कला संस्कृति, रहनसहन मौलिक खालको छ, त्यसको संरक्षण गर्न हामी सबैले लाग्नुपर्छ ।’
उनले सुदूरपश्चिममा पनि यहाँको भाषा बोल्न र लेखनमा वृद्धि होस् भन्दै शुभकामना दिए । उनले डोटेली भाषाको व्याकरण निर्माण गरेर यहाँको भाषा संस्कृतिको संरक्षण गर्न भाषा बिदहरुसंग आग्रह गरे ।
यस्तै विश्व नेपाली साहित्यिक महोत्सवको समापन समारोहका विशिष्ठ अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भाषा कला र साहित्यमार्फत् विश्वभरिका नेपाली भाषीलाई सुदूरपश्चिमसँग जोडाएकोमा सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई धन्यवाद दिए । उनले भने,‘यो महोत्सव यहाँको भाषा, कला र साहित्यिक उत्थानका लागि कोशेढुंगा सावित भएको छ ।’
कार्यक्रममा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिमलाई संघीय सरकारले पनि विकासका लागि नयाँ योजना बनाएको बताए । उनले भने,‘हामीले यहाँको पर्यापर्यटनसँगै उद्योगधन्दामा विशेष जोड दिएका छौँ ।’ सुदूरपश्चिममा प्राचीन समयमा उत्खनन भएका फलाम खानीको अन्वेषण गरेर ती खानीलाई सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।