महिलामाथि हुने विभेद र हिंसाविरुद्ध जागरणमा कांग्रेस सभापति देउवाको जोड
प्रकाशित २०७६ फागुन २५ आइतबार
687
Shares
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक शुभकामना प्रकट गरेका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आइतबार जारी गरेको शुभकामना सन्देशमा उनले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् ।
हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा मात्र नभएर मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउँदै सभापति देउवाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हिंसा भएको सन्देशमा उल्लेख गरेका छन् ।
“नेपाली काँग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ, महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ विश्वास मैले लिएको छु”, सन्देशमा उनले भनेका छन् ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन दिदीबहिनीहरुले आफ्नो प्राणको आहुती गर्नुभएको स्मरण गर्दै उनले उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् ।
आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि महिलाहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास सभापति देउवाले व्यक्त गरेका छन् ।