काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको छैठौं दिन स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधारका भइरहेको जनाएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई नियमित हिँडडुल, व्यायाम र खानपान र दिइएको थालिएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाले ओलीलाई आफ्नो एउटा मिर्गौला दान गरेकी हुन् । भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ । उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।
अझै दुई चारदिन ओली शिक्षण अस्पताल महाराजगञ्जमा रहने छन् । त्यसपछि उनलाई डिस्चार्ज गरिने छ । प्रधानमन्त्री निवासमा उनी दुई हप्ता आराम गरेपछि मात्र बाहिरी कार्यक्रममा जान सक्नेछन् । २०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अहिले नै प्रधानमन्त्रीको डिस्चार्ज गरिने बारे भन्न नसकिने बताए । सोमबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा उनले भने,'अस्पताल र चिकित्सकले डिस्चार्ज गर्न योग्य भनेर निक्र्यौल गरिसकेपछि त यहाँ एक घण्टा पनि बढी राख्ने कुरा हुँदैन। 'कतिपयले मिडियाका साथीहरुले प्रधानमन्त्रीको डिस्चार्जबारे भविष्यवाणी गरिरहेका छन्, यसो नगरौं,’ थापाले भने ।
बुधबार पाँच घण्टा लगाएर उनको शल्यक्रिया भएको थियो । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नवौं नेपाली बिरामी हुन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या सिंह शाह, डा महेश सिग्देल, डा.मकन्द काफले र डा रविन नेपाली लगायतको टोली सहभागी थियो ।