काठमाडौं । कोरना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण विश्वभर ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएसँगै आआफ्ना देशको क्वारेन्टाइन रहेका छन् । नेपालमा भने कोरोना संक्रमणको आशंका लागेका नेपालीहरुलाई सरकारले क्वारेन्टाइनमा नराख्ने भएको छ । स्वस्थ्यमन्त्री भानुभक्त ढकालले भाइरस सङ्क्रमणको आशंका लागेकालाई सरकारले क्वारेन्टाइनको व्यवस्था नगर्ने बताएका छन् ।
स्वस्थ्यमन्त्री ढकालले आफैं 'सेल्फ क्वारेन्टाइन'मा बस्नुपर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा नेकपाको भातृ युवा संगठन राष्ट्रिय युवा संघ नेपालले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेनटाइनमा राखे जसरी अब राख्न नसकिने बताए । ‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ क्वारेनटाइनमा मानिसहरू बस्नुपर्छ,’ स्वस्थ्यमन्त्री ढकालले भने, ‘के गर्ने के नगर्ने भन्ने प्रोटोकल हामीले तयार पारिसकेका छौं। घरमा बस्दा एक अर्का सदस्यसँग कति दूरीमा बस्नेलगायतका कुरा प्रोटोकलमा छ।’
मन्त्री ढकालले भने, 'डब्लूएचओको एउटा मापदण्ड छ, त्यो मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्नेछ । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकार लिन्छ । क्वारेनटाइनमा राख्नुपर्ने अवस्था देखिए खरिपाटीमा राखिने उनले बताए। यसअघि चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपाली खरिपाटीबाट १४औँ दिनमा गरेको नाक र घाँटीको स्वाबको परीक्षणमा कसैमा पनि कोरोनाको सङ्क्रमण भएको नपाइएपछि घर फर्किएका थिए ।