नोवल कोरोना भाइरस नियन्त्रण-रोकथामका सन्दर्भमा केन्द्रित रही मानव अधिकार तथा शान्ति समाजले देशव्यापी रुपमा सजगता अभियान प्रारम्भ गरेको छ ।
कोरोना भाइरस नियन्त्रण रोकथामका लागि शान्ति समाजले राज्य-सरकारसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ । कालोबजारी रोक्न प्रभावकारी अनुगमनमा जोड दिदै, आपुर्ति ब्यवस्थालाई सहज बनाउनका लागि ठोस कदम चाल्न पनि शान्ति समाजले सरकारसँग आग्रह गरेको छ ।
अराजकता-अब्यवस्था- कानुन बिहिनताको स्थिति उत्पन्न हुन नदिन नागरिक खबरदारीका साथै नागरिक सहकार्यमा जोड दिदै अभाव र असुरक्षाको स्थिति उत्पन्न हुन नदिन राज्य, राजनीतिक समाज, नागरिक समाज सहकार्यका लागि शान्ति समाजले आह्वान गरेको छ ।
नोवल कोरोना भाइरस नियन्त्रण-रोकथामका लागि पूर्व सतर्कता, अधिक सावधानी र सफाई अभियानको विस्तारमा जोड दिदै शान्ति समाजले जिल्ला जिल्लामा शान्ति समाजका सदस्यहरु परिचालन गर्ने भएको छ ।
कोरोना भाइरस प्रकोपका सन्दर्भमा सावधानी स्वरुप शान्ति समाजले वैशाख महिना सम्मका आधा दर्जन बढी नियमित अभियान-कार्यक्रमहरु स्थगित गरिसकेको छ भने अबको मूल अभियान नोवल कोरोना भाइरस नियन्त्रण-रोकथामका सन्दर्भमा केन्द्रित रहने छ ।
यसै अभियानका क्रममा शान्ति समाज रुपन्देही र दाङ शाखाले चैत ४ गते रुपन्देही र दाङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।