चन्द्र चण्डारीको गम्भीर प्रश्न– ‘जरो नै काटेपछि रुख कहाँ हुर्किन्छ ?’
प्रकाशित २०७६ चैत ५ बुधबार
1k
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले देशको गौरब र पहिचान मेटिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै गम्भीर प्रश्न लेखेका हुन् । उनले लेखेका छन्, ‘आफ्नो देशको विशेषता, मुल्यमान्यता, मौलिकता, इतिहास, गौरव, शान र पहिचान नबुझी अरुका आयातीत पुराना विचार बोक्दा हाम्रो टाउको भारी हुँदै लच्किएको छ ।’
डा भण्डारीले सोचका कमीका कारण पनि अक्कल नपुगेको भन्दै लेखेका छन्, ‘छुट्टै परिवेश र सोंचमा विकास भएका दर्शन सिद्धान्त त्यसमा अडिएका व्यवहार र संरचनालाई नक्कल गर्दा पनि अक्कल पुगेको छैन ।’
उनले भने, ‘यस्ता गम्भीर विषयमा समेत नबोल्ने, संख्यात्मक रुपमा बढी र गुणात्मक रुपमा कम टाउकाहरुले ठूलो संकट निम्त्याएको छ ।’
विश्वले अनुकरण गरिरहेको आफ्नो संस्कृति लोप हुँदै गएकोप्रति चिन्तित हुँदै उनले लेखेका छन्, ‘जनतालाई चर्को कर तिराएर पाल्नु परेका टाउकाहरु कसैको प्रतिक्षामा हुन्छन !!! आफु र आफ्नो मुल्यमान्यताहरुलाई चिन्न र प्रसारित गर्न पनि संकट आउनु पर्दो रहेछ जस्तै ‘नमस्ते’ ।’
उनले यतातर्फ सबै सचेत हुनुपर्ने भन्दै गम्भीर प्रश्न तेस्र्याउँदै झक्झक्याएका छन्, ‘यस्ता धेरै सम्पत्ति हामीसंग छन् । जरो नै काटेपछि रुख कहाँ हुर्किन्छ र त्यसबाट फलफूलको के आस गर्ने ? कुन महामारीले हामीलाई हाम्रो यथार्थ बुझाउला ?’
आफ्नो भएको सम्पत्तिको संरक्षण गर्न नसक्दा के हालत हुन्छ भन्ने दृष्टान्त दिँदै डा भण्डारीले मार्मिक तस्वीर पनि फेसबुकमा राखेका छन् ।