arrow

हाम्राकुरा समाचार प्रभावः दिल्लीमा अलपत्र परेकाहरु ३ वटा बसमा नेपाल फर्किदै

राती पौने ९ बजे छुट्यो दिल्लीबाट बस, विहान पनि फर्के केहि

logo
प्रकाशित २०७६ चैत १० सोमबार
nepali-travel-india-bus.gif

नयाँ दिल्ली। कोरोना भाइरसको कारण कर्मथलो भारतबाट आफ्नो जन्मथलो फर्केर आउने क्रममा भारतको राजधानी नयाँदिल्लीमा लकडाउनका कारण अलपत्र परेका नेपालीहरु स्वदेश फर्किएका छन्। राती पौने ९ वजे ३ वटा बसमा २ सय १४ जना नेपालीहरु स्वदेश फर्किएका हुन्।  

जनता कर्फ्यु र लकडाउनका कारण नेपाल फर्कन लागेका नेपालीहरु नयाँदिल्लीस्थित आनन्द विहारमा अलपत्र परेको समाचार हाम्राकुराले आइतवार राती प्रकाशित गरेपछि सक्रिय भएको नयाँदिल्लीस्थति नेपाली राजदुतावासले ३ वटा बसलाई एनओसी दिएपछि रातभर सडकमै रहेका नेपालीहरु स्वदेश फर्कन पाएका हुन्। दुतावासले विहानैबाट त्यहाँ रहेका नेपालीलाई फर्काउन पहल गरेको थियो। नेपालबाट कांग्रेस सभापति शेर बहादुर देउवा, नेता दिलेन्द्र प्रसाद बडु, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले समेत राजदुत निलाम्वर आचार्यसँग समन्वय गरेका थिए।  

रातभर सडकमै रात काट्न वाध्य नेपालीहरु मध्ये १५४ जना भने सोमबार विहान ट्याक्सी रिजर्भ गरि हिडेका थिए। बाँकी भने साँझ बसको व्यवस्था नभएसम्म आनन्द विहारमै थिए। नेपाली व्यवसायीहरुकै सञ्चालन गरेको तीनवटा सवारी साधनको व्यवस्था गरि उनीहरुलाई नेपाल फर्काइएको हो।

४ वटा बसमा नेपाल फर्कन तयारी गरेपनि एक बसमा २० जना मात्र भएपछि उनीहरुलाई पनि ३ बसमा थपेर स्थानिय समय अनुसार रातको साँढे आठ वजेसम्म नेपालतर्फ गएको जेएनयूमा अध्ययन गर्दै आएका अम्बिका प्रसाद जोशीले जानकारी दिए। केहि नेपाली भने गए राती सवारी नपाए पछि दिल्लीमै रहेका आफन्तकहाँ गएका थिए। सम्भवत त्यस्ता केहि व्यक्ति भने नेपाल जान छुटेको हुनसक्ने जोशीले बताए। दिल्लीमा अलपत्र रहेकाहरुलाई भारतमै रहँदै आएका राजनीतिककर्मीहरु आरबी खड्का र सन्दिप रानाले खाना पानीको व्यवस्था गरेका थिए। 

भारतको विभिन्न राज्यबाट दिल्ली आइ त्यहाँबाट नेपाल आउने तयारीमा रहेकाहरु गए रातीदेखि समस्यामा परेका थिए। उनीहरु नेपाल सरकारले सोमबारबाट एक हप्ताको लागि चीन र भारतको सबै सीमा नाका बन्द गर्ने घोषणा गरेपछि थप चिन्तित बनेका थिए। नेपाल जान झिटीगुण्टा बोकेर दिल्ली आइपुगेका उनीहरु पसल होटल रेष्टुरा सबै बन्दा हुँदा खाना र पानी समेत नपाएर सडक पेटीमै रात विताउन वाध्य भएका थिए। 

दिल्ली प्रहरीलाई आफहरुको समस्याको बारेमा बताए पनि केन्द्रदेखि राज्य सरकारको आदेशका कारण देश नै ठप्प भएको बेला आफूरुले माथिको आदेश नभइ केहि गर्न नसक्ने जवाफ उनीहरुले दिएका थिए। बैंगलोरबाट दिल्ली आइपुगेका लक्ष्मण रातोकीले आफूजस्तै सयौं नेपाली आनन्द विहारमा अलपत्र अवस्थामा सडकमै सुत्न वाध्य भएको बताएका थिए। उनले बालबच्चा समेत लिएर नेपाल फर्किन लागेकाहरु खाना र पानी समेत नपाएर सडकमा रात कटाउन वाध्य भएको बताएका थिए।

रातोकी लगायतका नेपालीहरुले नेपाल सरकारलाई तत्काल आफूहरु जस्तै आनन्द विहारमा रहेका नेपालीको उद्धारका लागि भारतस्थित नेपाली दुतावासलाई सक्रिय गराउन माग गरेका थिए। नेपाल सीमा पुगेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ