लकडाउनमा अपांगता भएकालाई सघाउन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको माग
प्रकाशित २०७६ चैत ११ मंगलबार
708
Shares
काठमाडौं । कारोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन सरकारले लकडाउन गरेपछि त्यसबाट उत्पन्न हुने असुविधालाई ध्यानमा राखेर राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संले अपांगता भएकाहरुलाई सघाउन जोडदार माग गरेको छ ।
संघले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ, ‘रोग कहिल्यै आफ्नो हुँदैन । त्यसैले उनीहरुको सूचना लिने, उपचार गर्ने, इम्युनिटी पावर बढाउने पौष्टिक आहाराको ब्यवस्था गर्ने, सरसफाईका लागि चेतना अभिवृद्धि गराउने, नियमित औषधि प्रयोग गर्नुपर्ने ब्यक्तिहरु, मस्तिष्क पक्षघात, मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्जुरी) का लागि चाहिने स्वास्थ्य सामग्रीहरु, बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका लागि औषधोपचार र नियमित स्वास्थ्य परीक्षण गर्न विशेष ब्यवस्था गर्न र त्यसका लागि अति सामग्री उपलब्ध गराउन सरकारसंग जोडदार माग गर्दछौं ।’
यस्तो छ विज्ञप्ति– मंगलबार बिहान ६ बजेदेखि नेपाल लकडाउन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बिश्वब्यापी रुपमा फैलिएर बिश्वयुद्धको रुप लिइरहेको छ। यो महामारिबाट बच्न बचाउन र रोक्न संसारका सबै मुलुकहरुले अथक प्रयास गरिरहेको छ। यसका लागि औषधि र खोप अझै पत्ता लगाउन सकिरहेका छैनन यद्यपि प्रयास गरिरहेका छन् र समय पनि लाग्छ ।
आशा छ निकट भविष्यमै मानिसले (कोभिड–१९) माथि अवश्य पनि बिजयी प्राप्त गर्ने छन् । कोरोना भाइरसबाट बच्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह र सरकारको निर्णयलाई जनताले बिना हिचकिचाहट इमान्दारिताका साथ कार्यान्वयनमा साथ दिन सकियो भने मात्र केही हद सम्म बच्नका लागि सहज बन्न सक्छ।
चीन, इटलीलगायत देशहरुमा धेरै मानिस हताहत भएको र त्यहांको अध्ययनले अधिकांश इम्युनिटी पावर कम भएकोलाई यो भाइरसले आक्रमण गर्छ। जसमध्ये ज्येष्ठ नागरिक, अशक्त र विभिन्न रोगले ग्रसित भएका ब्यक्तिहरु यसका शिकार बन्न पुगेको भन्ने समाचार सुन्नमा आएको छ।
तसर्थ नेपालमा पनि यो महामारीले गांज्दै ल्याएको र पर्याप्त मात्रामा चेक जाँच नहुंदा अन्य देशहरुको तुलनामा कुनै पनि दुर्घटना भएको पुष्टि भएको छैन । खुशीको कुरा हो।
तर उत्तरी छिमेकी देश चीनबाट फैलिएको भाइरस दक्षिणका भारतमा समेत फैलिएको अवस्थामा नेपाल अछुतो छ भन्न सकिन्न र फ्रान्सबाट नेपाल आएका एकजना युवतीमा पोजेटिभ देखिएको कुरा स्वास्थ्य मन्त्रीले पुष्टि गरिसकेको छ ।
चैत ११ देखि १८ गतेसम्म देश पुरै लकडाउन हुंदा अपाङ्गता भएका व्यक्ति जसमा पूर्ण र अति अशक्त भएकाहरु बढी जोखिममा परेका छन् उनीहरुको इम्युनिटी पावर कम हुने र तुरुन्त संक्रमणले छुन सक्ने भएकोले नेपाल सरकारले तत्काल यस बिषयमा विशेष ध्यान दिनु जरुरी छ।
रोग कहिल्यै आफ्नो हुँदैन । त्यसैले उनीहरुको सूचना लिने, उपचार गर्ने, इम्युनिटी पावर बढाउने पौष्टिक आहाराको ब्यवस्था गर्ने, सरसफाईका लागि चेतना अभिवृद्धि गराउने, नियमित औषधि प्रयोग गर्नुपर्ने ब्यक्तिहरु, मस्तिष्क पक्षघात, मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्जुरी) का लागि चाहिने स्वास्थ्य सामग्रीहरु, बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका लागि औषधोपचार र नियमित स्वास्थ्य परीक्षण गर्न विशेष ब्यवस्था गर्न र त्यसका लागि अति सामग्री उपलब्ध गराउन सरकारसंग जोडदार माग गर्दछौं ।
साथै अपाङ्गता भएका ब्यक्तिहरुका लागि सरसफाइका लागि आवश्यक पर्ने मास्क, सेनिटाइजरका सामग्री जहाँ जहाँ बसोबास गरेका छन् । सोही स्थानमा उपलब्ध गराउन पनि माग गर्दछौँ । यसका अतिरिक्त खाद्य सामग्रीसमेत सहज उपलब्ध गराउन पहल गरियोस् ।
दैनिक रोजीरोटीका लागि काम गर्ने अपाङ्गता भएका नागरिक उसको परिवार ठूलो मारमा परेका छन् । भाडामा रहेका ब्यक्तिहरु झन समस्यामा परेकोले त्यस्ता ब्यक्तिहरुलाई सरकारले राहतको प्याकेज तत्काल ब्यवस्था गर्न गराउन सरकारसंग राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ जोडदार अपिल गर्दछ ।
साथै कोरोना भाइरसको महामारीबाट बच्न र बचाउन सरकारले आव्हान गरेको लकडाउनको हार्दिक स्वागत गर्दै सफल कार्यान्वयनको लागि सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गर्दछौं ।