arrow

नोवल कोरोनाको प्रभाव

logo
पूर्णीमा पन्थी घिमिरे,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
Purnima-panthi-ghimire.jpg

काठमाडौं । चीनको वुहानबाट डिसेम्वर २०१९ देखि सुरु भएको यो नोवल कोरोना भइरस दक्षिण कोरिया जापान हुँदै अहिले करिव १ सय ९४ देशहरुमा फैलिएको छ । विश्वको सर्वश्रेष्ठ मानिएको देश अमेरिकालाई पनि यो भाइरसले अत्याएको छ । अहिले विश्वकै तथ्याङ्क अवलोकन गर्दा कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या सबै भन्दा धेरै क्रमशः चीन, इटाली, अमेरिका र स्पेनमा रहेको छ । त्यसैगरी भाइरसबाट धेरै ज्यान गुमाउने इटली, स्पेन, चीन र अमेरिका छन् । भाइरस संक्रमित ठूलो संख्यामा उपचार पछि निको भएका छन् । तथ्याङ्कबाट के बुझ्न सकिन्छ भन्दा चीनबाट यो भाइरसको सुरुवात भएपनि अहिले त्यहाँ नियन्त्रण भइ तिव्र गतिमा घट्दै छ । चीनको छिमेकी देश दक्षिण कोरिया र जापानमा चीनमा फैलिएको केही समय पछि नै यो भाइरस देखिएको थियो । 

भारतमा पनि यो कोरोना भाइरस फैलिएको छ । त्यसैगरी नेपालमा पनि भित्रिएको अवस्था छ । हात जोडी नमन् गर्ने संस्कृति, खाना राम्रोसँग पकाएर खाने, खनामा बेसार, लसुन, अदुवा जस्ता मसलन्द कुराहरु प्रयोग गरिने हुँदा नै हाम्रोमा यो महामारीका रुपमा फैलन नसकेको जस्तो देखिन्छ । 

कोरोना सिङ्गल स्टाण्डर्ड आर.एन.ए. भाइरस हो । जुन पशुपक्षि र समुन्द्रि जीवजन्तुहरुमा पाइन्छ । भाइरसको आकार २० देखि ३ सय नानोमिटरसम्म हुन्छ । यो ठूलो भाइरस मध्येमा पर्छ । कोरोना भाइरस राइबो न्यूक्ल्कि एसिड्बाट बनेको हुन्छ । इलेक्ट्रोनिक माईक्रोस्कोपमा हेर्दा यो भाइसरको बाहिरी तह क्राउन जस्तो देखिने भएको हुनाले यसलाई कोरोना भाइरस भनिएको हो । 

मानिसमा संक्रमित हुने विभिन्न भाइरसहरु मध्ये नोवल कोरोना भाइरस एक हो । विश्व स्वास्थ्य संगठनले यो भाइरसलाई कोभिड १९ को उपनाम दिएको छ । यस्ता खालको भाइरसको महामारी सन् २००२ नोभेम्वरदेखि सन् २००३सम्म चीनमा फैलिएको थियो । जसलाई सार्स कोरोना भाइरस भनिएको थियो । त्यसैगरी सन् २०१२मा मध्य पूर्वका देशमा पनि कोरोना फैलिएको थियो । त्यसलाई मर्स कोरोना भाइरस भनेर नाम दिइयो ।

अहिलेको नोवल कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको अनुमान गरिएको छ । यो चुकुल र ह्याण्डलमा लामो समय जीवित रहन सक्छ । तामाको सतहमा ४ घण्टासम्म बाच्न सक्ने देखिएको छ । यो भाइरसको भौतिक र रासायनिक विशेषता भनेको ताप अगाडि कमजोर हुन्छन् । त्यस्तै अल्कोहलले पनि निस्क्रिय बनाउन सकिन्छ । यो भाइरसको प्रमुख लक्षण चार पाँच दिनसम्म लगातार एक सय दुई डिग्री फरेनहाईट भन्दा माथि ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, केही समय सुक्खा लहरे खोकि लाग्ने, निमोनियाको लक्षणदेखिने इत्यादि हुन्छन् । 

हरेक उमेरका मानिस यस भाइरसबाट संक्रमित हुने भए पनि बालक, बृद्ध र स्वास्थ्य अवस्था कमजोर भएका मानिस धेरै जोखिममा पर्ने देखिएको छ । कोरोना संक्रमित व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिऊ गर्दा भाइरस बाहिर आउछन् । ति भाइरस जुनसुकै बस्तुको सतहमा पनि बस्न सक्छन् । त्यहाँ पुग्नासाथ निस्क्रीय हुँदैनन् । यदि अरु मानिसले त्यो ठाउँ छोएर आफ्नो हात नाक, मुख, आखामा लगे भने भाइरस शरिरमा प्रवेश गर्छ । त्यसैले कुनै पनि मानिससँग भेट्दा कुराकानी गर्दा कम्तिमा एक मिटर दुरी कायम गर्न र हात मिलाउनको सट्टा नमस्ते गर्न जरुरी छ । हावाबाट भाइरस सर्छ भन्ने कुरा भ्रममात्र हो । 

नोवल कोरोना भाइरस नयाँ किसिमको भाइरस भएको हुनाले अहिलेसम्म यसको खोप र उपचार विधि पत्ता लागेको छैन । सरसफाईमा ध्यान दिनुनै यसको संक्रमण फैलिनबाट बच्ने उपाय हो । यो रोग लाग्नबाट बच्न नियमित रुपमा सावुन पानीले हात धुने, खोक्दा र हाच्छिऊ गर्दा नाक र मुख छोप्ने, पशु–पक्षिबाट टाढा रहने र माछा–मासु राम्रोसँग पकाएर मात्र खाने, भिडभाडमा नजाने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुपर्दछ । रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्ने खानेकुराहरु सेवन गर्नुपर्दछ ।

यसको प्रभाव शरिरमा २ दिनदेखि १४ दिनसम्ममा देखिन्छ । त्यसैले संक्रमित व्यक्तिलाई अलग राख्नु पर्दछ । संक्रमित व्यक्तिले माक्स लगाउनु पर्दछ । साथै समय समयमा प्रसस्त मात्रामा तातोपानी पिउनु पर्दछ । जसले गर्दा यदि भाइरस मुखमा छिरेको भएपनि पानीले त्यसलाई पेटमा पुर्‍याउछ र पेटमा भएका एसिड्ले मार्दछ । अन्यथा त्यो भाइरस स्वास नली हुँदै फोक्सोमा पुग्छ र फोक्सोलाई हानी पुर्‍याउछ ।
 
सिङ्गो भूगोल कोरोनाबाट त्रस्त र ग्रस्त हुँदा पनि हाम्रो देश नेपालमा कोरोना संक्रमितको संख्या ३ जनामा मात्र सिमित रहेको छ । हामी जोगिएका छौं । यो हाम्रो लागि सौभाग्यको कुरा हो । नेपाल सरकारले कोरोना भाइरस महामारीसँग लड्ने योजना कार्यान्ययन गरेको छ । सर्वप्रथम् विभिन्न संचार माध्यमबाट यो भाइरस सर्ने तरिका, सरेपछि देखिने मुख्य लक्षण तथा यसबाट बच्ने उपायबारे जन चेतना मूलक संन्देश दिइएको छ । यो रोग परिक्षण गर्ने किट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रहेको छ । परिक्षणका लागि सबै प्रदेशमा रहेका अस्पतालमा नमुना जम्मा गरेर टेकु अस्पतालमा ल्याइने गरिएको छ । विभिन्न प्रदेशहरुमा आइसुलेशन वार्डहरु पनि निर्माण भइरहेका छन् । साथै सातै प्रदेशमा परिक्षण गर्ने किट पुर्‍याउन सरकार प्रयत्नशील छ । विमान स्थलहरुमा हेल्थ डेस्क राखेर परिक्षण गरिदै आएको थियो भने जमिनबाट आउनेहरुका लागि पनि सीमानामा हेल्थ डेस्क राखेर स्वास्थ्य परिक्षण गरिएको थियो ।

चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेशमा सुरक्षित ल्याउनु सरकारको राम्रो काम हो । नेपालमा यस भाइरसबाट संक्रमित पहिलो व्यक्ति परिक्षणबाट पुष्टि भएपछि भागे । यसमा सरकारको गैरजिम्मेवारीपन देखिन्छ । स्वास्थ्य मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले पनि उपचार गर्न सकिदैन भन्ने किसिमको गैरजिम्मेवारी अभिव्यक्ति गरेको भनेर समाचारमा पनि आयो । उपकरण पाइएन भनेर डाक्टर स्वास्थ्य कर्मीहरुले मन्त्रीलाई भन्दा मन्त्रीको जिम्मेवार उत्तर पनि नआएको समाचारहरुमा आए । 

यसै क्रममा, अकस्मात चैत ५ गते सरकारले एस.ईं.ईंं को परिक्षा रोक्यो । त्यसको ४ दिन पछि लकडाउन गरियो । त्यसको २ दिन पछि दोस्रो विरामी देखियो । त्यसको २ दिन पछि अर्को विरामी पनि देखियो । यतिखेर नेपालको अवस्था १ जना विरामी सन्चो भएर घर गएका छन् । २ जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । देशमा अत्यावश्यक सेवाहरु बाहेक सबै बन्द गरिएका छन् । नियमको उलंघन गर्नेलाई कार्वाही समेत गरिएको छ । यसबाट सम्भावित महामारिको रोकथाप हुने अनुमान छ ।
यस रोगको थप नियन्त्रणका लागि संकास्पद व्यक्तिलाई स्वास्थ्य कर्मी तथा चिकित्सकको निगरानीमा १४ दिनसम्म राख्नु पर्ने हुन्छ । विशेष तालिम दिई आवश्यक सामग्रीको व्यवस्थापन गर्दै स्वास्थ्य कर्मी र चिकित्सक सम्मिलित विशेष टोली तयारी अवस्थामा राख्नु पर्दछ । संक्रमण पुष्टि हुनासाथ त्यस्ता व्यक्तिलाई आइसोलेशनमा उपचार गर्नुपर्ने हुन्छ । यसोगर्दा संक्रमितबाट अन्य मानिसमा भाइरस सर्ने सम्भावना कम हुन्छ ।

विश्वमा नै फैलिएको कोरोना भाइरसले एकातिर त्रासपूर्ण वातावरण श्रृजना गरेको छ । यो भाइरसले संक्रमण गर्ने क्षमता अन्य भाइरसले भन्दा तिव्ररहेको हुँदा यो प्रकोप अहिले सबैका लागि चिन्ता चासोको विषय बन्नु स्वभाविकै हो । हरेक भाइरसको आफ्नो जीवन हुन्छ निश्चित अवधि पछि यो आफै हराउछ । कोरोना संक्रमणको वास्तविक तस्वीर भन्दा सामाजिक संजाल मार्फत जर्वजस्ती फैलाइएको हल्ला बढी भयानक छ । त्यसैले यि सबै हल्लाको पछि नलागेर आफ्नो मनोवललाई उच्च राख्यौ भने यो भाइरसलाई जित्न सकिन्छ ।

अहिलेको विश्वको अवस्था दयनिय छ । यो भाइरस पूर्ण नियन्त्रणमा आउन समय लाग्छ । यसबाट भएको मानवीय र आर्थिक क्षती विभिन्न देशहरुले भोगिरहेका छन् । साथै विभिन्न देशबाट यसको औषधीको खोजीक्रम तिव्र छ । त्यसको परिक्षण पूरा भई हामीले प्राप्त गर्न धेरै समय लाग्छ । अहिलेकै अनुपातमा यो रोग बढ्दै गयो भने यस बारे भन्न र सोच्न सक्ने अवस्था रहदैन ।

त्यसैले उपचार नै नभएको रोगबाट संक्रमित हुनुभन्दा हामी आफै सचेत र सजग बनौं । सरकारले लागू गरेको नियम पूर्णरुपले पालना गरौं । यस पछिको विश्वको स्वरुप कस्तो होला ? प्रश्न मेरो मनमा खडा भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ