arrow

नेपालमा कति छन् कोरोना संक्रमित ?

जथाभावी नबोल्न मन्त्रालयको आग्रह

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
bhanubhkta.JPG

काठमाडौं । नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । 

मन्त्रालयको आज नियमति पत्रकारसम्मेलनमा  मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवारको परीक्षण गर्दा सङ्क्रमण नदेखिएकाले उनीहरुको निगरानी (कन्ट्याक ट्रेसिङ) गरिएको जानकारी गराए । नेपालमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । उनले अहिलेसम्म ९९३ को नमूना परीक्षण गरिएको र ७८ को नतिजा आउन बाँकी रहेको जानकारी दिए । उनले अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना आइसोलेसनमा रहेको जानकारी दिए । यसैगरी सातवटै प्रदेशमा रहेका अस्पतालमा ९३ आइसोलेसनमा रहेका छन्  ।

प्रवक्ता देवकोटाले पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर निधन भएका तीन जनाको कोभिड–१९ को परीक्षण गरिएको र अहिलेसम्म रिर्पोट नआएको बताए । उनका अनुसार वीरमा रहेका एक जना उच्च रक्तचाप र अर्को एक जनाको ज्वरोको कारणले निधन भएको हो । उनका अनुसार धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ जनाको नमूना परीक्षण भइसकेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेका छन् । कोभिड–१९ का सम्बन्धमा जथाभावी बोल्नाले जनमानसमा नकारात्मक सन्देश गएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई नबोल्न उनले आग्रह गरे । 

“स्वास्थ्यकर्मीको निजी धारणा र अनुभव सामाजिक सञ्जालमा सार्वजनिक भइरहकामा यस्ता निजी धारणा र अनुभवले जनतामा भ्रम सिर्जना गरेको हुँदा कुनै पनि स्वास्थ्यकर्मीले मन्त्रालय वा विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेका सूचना सामग्रीभन्दा फरक नहुने गरी कोभिड–१९ सँग सम्बन्धित धारणा नगर्न÷नगराउन अनुरोध गर्दछौँ”, उनले पत्रकारसम्मेलनमा भने । 

यसैगरी उनले अहिले कुनै पनि रोगले मानिसको मृत्यु भए पनि त्यो कोरोनाको कारणले भयो भन्ने प्रचार भएकाले त्यसो नगर्नसमेत सञ्चारमाध्यमलाई अनुरोध गरे । “अरु रोगले मान्छेको मृत्यु भयो भने अहिले कोरोनाको कारणले भन्ने गरिएको छ,” उनले भने, “नेपालमा अहिलेसम्म कोरोनाको कारणले कोही मरेको छैन । सङ्क्रमण भएकाको अवस्था सामान्य रहेको छ ।” उनले अन्य मुलुकमा जस्तो नेपालमा कोरोनाको सङ्क्रमण नफैलिएको भन्दै विदेशबाट फर्किएकालाई माया गरी राम्रोसँग होम क्वारेन्टाइनमा राख्ने हो भने कोरोना नफैलिने बताए ।

उनले बाहिरी मुलुकबाट नेपाल आएका ४१ हजार १४० को नाम स्थानीय तहले उपलब्ध गराएको जानकारी  दिए । नमूना परीक्षणका लागि चाहिने मेशिनको परीक्षण गरी सातवटै प्रदेशमा पठाउने तयारी गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ