लकडाउनको १७ औं दिनः खस्किँदो दैनिकी, उल्लंघन उस्तै, पहिलो पटक चोरी
प्रकाशित २०७६ चैत २७ बिहिबार
720
Shares
काठमाडौं । सरकारले कोराना भाइरसको संक्रमण रोक्न लगाएको लकडाउनको बिहीबार १७ औं दिन हो । दिन बढेसंगै सर्वसाधारणको दैनिकी खस्कँदो छ ।
सरकारले चैत ११ गतेदेखि लकडाउन लगाएको हो । बैशाख ३ गतेसम्म लकडाउन लगाइएको छ । सर्वसाधारणले बिरामी हुँदासमेत अस्पताल जना नपाएका गुनासाहरु आइरहेका छन् ।
सरकरले राहत बाँडिरहेको बताए पनि अधिकांश पीडितहरु समक्ष त्यो राहत नपुग्दा आहत खेप्नु परेको गुनासो आएको छ ।
महामारीका बेलामा भएको महासंकटमा पनि पार्टीगत रुपमा राहत बाँडिएको आरोपसमेत लागेको छ ।
त्यसैगरी व्यक्तिगत पहल तथा चर्चामा आउनका लागि पनि २–४ किलो चामलसमेत बाँडेर सामाजिक संजालमा तस्वीर रंगाउने पनि रहेको भन्दै सरकार एकद्धार नीतिमा लागेको छ ।
तर एकद्धार गर्न खोज्दाखेरी झन् भेदभाव हुन सक्ने भन्दै आपत्तिसमेत प्रकट गरिएको छ ।
स्थानीय सरकारले व्यवस्थित गर्न नसक्दा यो विपद्मा पनि भेदभाव भइरहेको गुनासो आएको हो ।
उल्लंघन पनि उस्तै
ट्राफिक प्रहरी महाशाखाका फिल्ड अधिकृत प्रहरी निरीक्षक शेरबहादुर चन्दका अनुसार काठमाडौं उपत्यका भित्रिने सवारी संख्या ८१४ रहेको छ । जसमा २११७ यात्रु आइपुगेका छन् ।
प्रशासनले उपलब्ध गराएको पासमा रहेर ती सवारीहरु भित्रिएका हुन् । त्यसैगरी १०५९ सवारी उपत्यकाबाट बाहिरिएका छन् ।
तर उपत्यकामा अनावश्यक रुपमा लकडाउन तोड्नेहरु दिनानुदिन बढ्दा छन् ।
बिहीबार बिहानमात्रै १०० वटा सवारी साधन बिहान होल्डमा राखिएको छ ।
लकडाउनमा मानिस नियन्त्रणमा लिने क्रम पनि उत्तिकै छ । काठमाडौं उपत्यकामा पनि उल्लंघन बढ्दो छ । काठमाडौं जिल्लामा बिहानमात्रै १४८ पुरुषसमेत गरी १७७ जनालाई प्रहरीले होल्डमा लिएको छ ।
ललितपुरमा १९ जना होल्डमा परेका छन् । भक्तपुरमा तथ्यांक नआइसकेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर रानीपोखरीका अनुसार शान्ति सुरक्षा सामान्य भए पनि उपत्यकामा केही ठाउँमा झैंझगडा समेत भएको छ । ६ जना काठमाडौंबाट र २ जना भक्तपुरबाट पक्राउ परेका छन् ।
पहिलो पटक बुधबार चोरीको घटनासमेत भएको छ । यसअघि भने लकडाउनका बेलामा चोरीका घटना भएका थिएनन् ।
बुधबार पनि चरम थियो उल्लंघन
उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई कारवाही गरिएको थियो ।
सोही क्रममा २९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी ३२१ सवारी साधनलाई पनि नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंबाट सबैभन्दा बढी दुई हजार १५७ जनालाई नियन्त्रणमा लिइएको थियो । यसैगरी ललितपुरबाट ४८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको थियो ।
उक्त आदेश उल्लङ्घन गर्नेलाई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको छ ।