लकडाउनको २२ औं दिनः यस्तो छ उल्लंघन, १८ मापसे पनि होल्डमा
प्रकाशित २०७७ वैशाख २ मंगलबार
423
Shares
काठमाडौं । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख २ गतेसम्म आइपुग्दा २२ औं दिनमा चलिरहेको छ ।
बैशाख ३ गतेसम्म लकडाउन गरिएको भए पनि लकडाउन थपिने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसकेका छन् ।
पछिल्लो समय संक्रमितको संख्या बढेर १४ पुगिसकेको छ । त्यसैगरी आशंका गरेर आइसोलेसनमा राखिएकाहरु धेरै भएकाले पनि लकडाउन बढाउनु पर्ने बताइएको छ ।
लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् ।
ट्राफिक प्रहरी महाशाखाकी प्रहरी निरीक्षक मनिषा बुढाथोकीका अनुसार मंगलबार बिहान सवारी साधनको अवस्था सामान्य रहेको छ ।
बिहान ४ बजेदेखि नै लकडाउन उल्लंघन गर्नेहरुलाई कार्वाही गर्ने क्रम रहेको छ । २७ मोटरसाइकल र चार पाङ्ग्रे सवारीलाई होल्डमा लिइएको छ ।
समग्रमा अहिलेसम्म २८३ सवारी होल्डमा रहेका छन् । सवारी साधनलाई बिहानदेखि बेलुकासम्म नै होल्डमा राखिन्छ । आवश्यक परे समन्वय गरेर बढी समयसम्म पनि राख्न सकिने छ ।
नाकाहरुमा अत्यावश्यक र पास लिएका गरी काठमाडौंमा सोमबार १९९० जना भित्रिएका र २७ सय ७७ जना उपत्यकाबाट बाहिरिएका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव निरीक्षक पशुपति बस्ताकोटीका अनुसार लकडाउन उल्लंघन गर्नेहरु मंगलबार बिहानै काठमाडौं उपत्यकामा ५०० जना होल्डमा रहेका छन् ।
बिहान वर्षा भएकाले पनि मर्निङ वाकमा निस्कने कम भएका कारण पनि होल्डमा कम परेका हुन् ।
२४ घण्टाको अवधिमा उपत्यकाबाट मापसे गर्ने १८ जनालाई होल्डमा लिइएको छ ।
लकडाउनको अवधिमा सामान्य दुर्घटना ६० वटा भएका छन् र सामान्य घाइते ३७ वटा रहेका छन् ।