सरकारले लकडाउन लामो समय थप्ने सम्भावना, भारतले बढाउँदा त्यसको प्रभाव नेपालमा
प्रकाशित २०७७ वैशाख २ मंगलबार
691
Shares
काठमाडौं । मन्त्रिपरिषदको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । यो बैठकले नेपालमा लकडाउन बढाउने विषयमा निर्णय गर्दैछ ।
प्रारम्भिक चरणमा एक हप्ता लकडाउन थप्ने भनी चर्चा भए पनि सातै प्रदेशका मुख्यमन्त्रीहरुले लकडाउनको अवधि लामो समयसम्म थप्न आग्रह गरेका छन् ।
त्यसैगरी भारतले मंगलबारमात्रै बैशाख २१ गतेसम्म लकडाउन बढाउने निर्णय गरेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने निश्चित जस्तै बनेको छ ।
नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ । उक्त लकडाउनको समय बुधबार (बैशाख ३ गते ) सकिँदैछ । अहिलेसम्म १४ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।
देशका विभिन्न ठाउँमा देखिएको संक्रमण, प्रदेशका मुख्यमन्त्रीहरु र प्रधानमन्त्रीसँगका सम्बादमा मुख्यमन्त्रीहरुले दिएको सुझाव, उपत्यकाभित्रै संक्रमण देखिनु तथा भारतले पनि तीन साता लकडाउन बढाएको कारण नेपालले पनि एक हप्ता भन्दा बढी समय थप्न सक्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयका एक सदस्यले बताए ।
कोरोनाको संक्रमण बढ्न नदिन लकडाउन गरिएको हो । तर उल्लंघन गर्नेहरु पनि उत्तिकै रहेका छन् ।
त्यसैगरी जिल्ला प्रशासनले जथाभावी विशेष पासको व्यवस्था गर्दा समस्या अझ बढिरहेको भन्ने चर्चा भएसंगै यसमा कडाइसमेत गरिने भएको छ ।
बाग्मती प्रदेशको मुख्यालय हेटौंडामा मंगलबारदेखि दुईपाङ्ग्रे सवारी चलाउन रोक लगाइएको छ ।
विभिन्न जिल्ला तथा स्थानीय तहहरुले पनि एक पालिकाबाट अर्को पालिकामा जानसमेत प्रतिवन्ध लगाएका छन् ।
भारतबाट आएकाहरुमा संक्रमण देखिन सक्ने भन्दै सीमा नाकामा कडाइ गर्नुपर्नेमा जोड दिइए पनि हुनुपर्ने जति नभएको समेत बताइन्छ ।