कांग्रेस सोध्छ – पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
979
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउनमा सर्वसाधारणको पीडामा साथ दिन नसक्दा कोरोनाबाट बच्ने तर भोकले मर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दैै ‘भावनामा बगेर बोल्ने बेला यो होइन । तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन’ भनेका छन् ।
उनले तीन वटा बुँदामा सरकारलाई झक्झक्याउँदै लेखेका छन्, ‘सयौं किलोमीटर पैदल हिंडेर ती नागरिक घर गइरहेका छन्, जोसंग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति रहेन । यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने हो । ७ दिनको लकडाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पुर्याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु¥याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।’
दोस्रो बुँदामा लेखिएको छ, ‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं – अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार रु आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न रु’
त्यसैगरी तेस्रो बुँदामा लेखिएको छ, ‘परिक्षण, परिक्षण र व्यापक परिक्षण — कोरोनाबाट जोगाउन । राहत, राहत र पर्याप्त राहत —भोकमरीबाट जोगाउन । सरकारलाई हामी विनम्र अपिल गर्दछौं, सचेत गराउन चाहन्छौं र सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनीपनि दिन चाहन्छौं ।’
सरकारलाई गम्भीर हुन आग्रह गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु प¥यो सरकार । सुनिन्छ भने सुन्नु पर्यो । बुझिन्छ भने बुझ्नु पर्यो । गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च ब्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, संकटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउंदछ ।’