arrow

भोको पेटले कोरोनालाई चुनौती

logo
मनोज लामिछाने,
प्रकाशित २०७७ वैशाख ७ आइतबार
manoj-lamichhane.jpg

‘अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्नु यदि कोही खान नपाए गाउँ जान लागेको भए त्यही खाद्यान्न पुर्‍याउने गर्नु’ प्रधानमन्त्री केपी शर्मा ओलीले यो कुरा भनिरहदा सहरमा बाच्ने उपाय सकिएपछी सयौं किलोमिटरको दुरी हिडेर अहिले भारत लगायत नेपालका विभिन्न सहरहरुबाट आफ्नो गाउँघर फर्कने नेपालीहरुको लर्को छ।  सरकारको अदुरदर्शिताको कारण गरिब नेपालीले यो दुर्दशा भोग्नु परेको हो। देशमा लकडाउन गर्नु पूर्व सरकारले गर्नुपर्ने चुस्त दुरुस्त तयारीको कमीका कारण अहिले हजारौं गरिब नेपालीले यो नियति भोग्नु परेको हो।

जति जति लकडाउन लम्बिँदै गईरहेको छ त्यति नै प्रत्येक नेपालीको दैनिक जोहोको समस्या बढ्दै गैरहेकोछ। भोक, प्यास र थकाईको पर्वाह नगरी हप्तादिनसम्म हिँडेर भएपनि मानिसहरुको गाउँ जाने क्रम बढी रहेकोछ। यो विषम परिस्थितिमा नेपालीले संयम अपनाउने र राज्यले बनाएका नीति नियमहरुलाई पालना गर्नुपर्ने अबस्थामा कोरोना भाइरसको कारणले मर्न परे मरौला भोको पेटले मर्न नपरोस भनेर कोरोनालाई चुनौती दिदै दुखी गरिबहरु सयौं किलोमिटर हिडन बाध्य भईरहेका छन्। यो अवस्था अत्यन्त पीडाजनक अवस्था हो। अहिले नेपाल सरकारले राहत कोषको ब्यबस्था गरेको छ। त्यो राहत कोषमा जम्मा भएको रकमले ति गरिब पैदल यात्रीलाई उद्धार गर्न सक्दैन भने त्यो राहत कोष के का लागि ? यो जान्ने अधिकार सबै नेपालीलाई छ।

नीजिस्तरबाट भएका पहलमा हरेक नेपालीले हातेमालो गरिरहेका छन्। सयौं नेपालीको भोको पेट भरिएको छ। तर सरकारको अहिलेको अवस्था हेर्ने हो भने, लकडाउन गर्ने र दैनिक रुपमा संक्रमित हुनेको संख्या संचार माध्यमबाट जनतालाई जानकारी गराउने भन्दा अन्य सरकारले गरेका उपलब्धिहरुले जनताको खासै मन छुन सकेको छैन्। अहिलेको अबस्थामा सरकारको पहिलो दायित्व कोरोना भाइरसबाट जनतालाई सुरक्षा दिनु हो भने अर्को जनताको भोको पेट भर्नु हो। यो भन्दैगर्दा सरकारको विपक्षमा कलम चलाउने प्रयास गरिएको भने कदापि होइन। यो सरकारले गरेका राम्रा कामहरुको पनि समय समयमा कलम चलाईएको हो । यसको अभिप्राय यति मात्र हो कि नेपालबाट प्लेन लिएर चीनबाट विद्यार्थीहरु ल्याउन सक्ने सरकारले गरिब नेपालीलाई बस रिजर्भ गरेर उनीहरुको गन्तव्यमा पुर्याउने किन सर्वोच्चको आदेश कुरेर बस्नुपर्‍यो भन्ने सवाल मात्र हो।

बिश्वमा कोरोनाभाईरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या योलेख तयार गर्दासम्म करिब २३ लाख पुगेको छ। यस रोगले बिश्वमा डेढ लाख भन्दा बढीको ज्यान लिईसकेकोछ । यो भयाबह परिस्थितिको जानकार हरेक नेपालीहरु छन् । तर भोको पेटको अगाडी कोरोनाको भयलाई चुनौती दिदै हिडेका श्रमिकहरुप्रति सरकारको खासै आँखा पुगेन। न त उनीहरुको आवाजलाई नै सुन्यो।

अहिलेको अबस्थामा सरकारले देशमा भएका नर्स, डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु र प्रहरीहरुको ज्यानको सुरक्षाको प्रत्याभूति दिन आबश्यक छ। संचार माध्यममा भनिए अनुसार कोरोनाभाईरसबाट सङ्क्रमित हुनेहरुको लागि सरकारले तयार गरेका स्वास्थ्य सम्बन्धि व्यवस्था र क्वारेन्टिनको अबस्थाबारे जनतालाई प्रष्ट गर्नु पर्नेछ। सरकारले भने अनुसार विदेशबाट नेपाल प्रवेश गरेका नेपालीहरु समयमै स्वास्थ्य परिक्षण गर्नका लागि सचेत नहुनुको कारण के हो खोजी गर्नुपर्नेछ। मानिसहरु उदयपुरको मस्जिदमा लुकेर बस्नु, पेप्सीकोलाको सन सीटीमा अन्तिम अबस्थामा स्वास्थ्य संस्थामा जानु, क्वारेन्टाइनमा बसेका मानिसहरु भाग्नु, राजधानी बाहिरका अस्पतालका आइसोलेशन अथवा एकान्त कक्षमा खटिने नर्सहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई अझै प्राथमिकतामा नराखिएको भन्दै चिन्ता व्यक्त गर्नु, स्वास्थ्यकर्मीहरु भाइरस सङ्क्रमण हुन नदिने पीपीईमा आफूहरूको पहुँच नभएको भनिरहनु, क्वारेन्टाइनमा काम गरिरहेका नर्सहरूले आफूहरूसँग हातमा लाउने पञ्जासम्म पनि नभएको बताउनु, यो कसैका लागि राम्रो होइन। यसका लागि सरकारले धेरै कागजी र कार्यगत प्रक्रियाहरुमा अल्झिरहनु हुदैन। यसका लागि तुरुन्त सजिलो र सरल उपाय खोज्नु पर्छ तर भएका कार्यहरुको पारदर्शितातर्फ सरकार चनाखो हुनुपर्छ।

ज्यालादारी श्रमिकहरु देशका विभिन्न स्थानहरुमा खुल्ला आकाश मुनि सुतेका र काठमाडौँको वडा नम्बर ८ को पशुपतिको जंगलमा १३५ जना नेपालीहरु अलपत्र परेका समाचार संचार माध्यममा आएको कुरा सुन्दा कुन नेपालीको मन नदुखला ? सरकारले टड्कारो रुपमा देखिएका मुख्य मुख्य समस्याहरुको पहिचान गरेर समाधानका लागि क्रमबद्ध रुपमा योजना बनाएर अघि बढन अति आबश्यक छ। सरकारले गरेको लकडाउनको पालना गर्नु सबै नेपालीहरुको दायित्व हो । लकडाउनको बिकल्प पनि हाललाई छैन तर सरकारले लकडाउनको मारमा परेका नेपालीहरुको उद्धार तर्फपनि ध्यान दिन आबश्यक छ। सरकारले गरेका राम्रा कार्यहरुका लागि सबै नेपालीहरुले सरकारलाई सहयोग गर्ने र सरकारले गरेका राम्रा पहलहरुका लागि सरकारलाई प्रोत्साहन र उर्जा थप्ने कार्यका लागि पनि हरेक नेपालीले कन्जुस्याई गर्न हुँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ